सडक निर्माण गर्न माग गर्दै जनकपुरका स्थानीयहरु तीन दिनदेखि धर्नामा बसेका छन्।
सडक निर्माणमा भएको ढिलाइले सर्वसाधारणले सास्ती खेप्नु भन्दै जनकपुर उपमहानगरपालिका–१४ रजौलका स्थानीयहरु मंगलबार शहरी विकास कार्यालयमा धर्ना दिएका छन्। थापा चोकदेखि मुजेलिया प्रहरी चौकीसम्म सडक निर्माण गर्न एक वर्ष पहिले ठेक्का लागिसकेपनि अहिलेसम्म निर्माणको काम सुरु नभएपछि स्थानीयहरु निर्माण संघर्ष समिति गठन गरी धर्नामा बसेका हुन्।
संघर्ष समितिले मंगलवार ११ बजेदेखि दिउँसो २ बजेसम्म धर्नामा बसेका थिए। तीनदेखि शान्तिपूर्ण धर्नामा बसेपनि आआफूहरुको मागप्रति सरोकारबालाहरुले कुनै चासो नदेखाएको भन्दै उनीहरुले बिहीबारदेखि चक्का जाम गर्ने चेतावनी समेत दिएका छन्।
‘शान्तिपूर्ण आन्दोलनबाट हाम्रो मागको विषयमा सरोकारबालाले भोलिसम्म कुनै चासो नदेखाए ढल्केवर–जनकपुुर सडकखण्ड अन्तर्गत मुजेलीया प्रहरी चौकीदेखि दुई सय मिटर दक्षिण बिहीबार दुई घण्टा र शुक्रवार तीन घण्टा चक्का जाम गर्छौं,’ आन्दोलनरत स्थानीय राजकरण यादवले भने।
शहरी डिभिजन कार्यालय थापा चोकदेखि मुजेलिया प्रहरी चौकीसम्म करिब १.३ किलोमिटर सडक निर्माणको जिम्मेवारी रमण कन्स्ट्रक्सनलाई दिइएको छ। ठेक्का सम्झौता अनुसार दुई महिनामात्र बाँकी रहेपनि निर्माणको काम सुरु हुन सकेको छैन।
स्थानीयहरु यथाशिघ्र सडक निर्माणको माग गर्दै आइतवार जनकपुर उपमहानगरपालिका–१४ को वडा कार्यालय अगाडि तीन घण्टा धर्ना बसेका थिए भने सोमबार जनकपुर उपमहानगरपालिका कार्यालयमा धर्नामा बसेका थिए।
यसअघि स्थानीयले तत्काल सडक बनाउन माग गर्दै वडा कार्यालय, उपमहानगरपालिका कार्यालय, सहरी डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए। सुनवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको स्थानीयहरुले बताएका छन्।