भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धनुषाको जनकपुरधाम आउने भएका छन्। चौथो पटक गत वैशाख २८ गते नेपाल भ्रमणमा आएका मोदी फेरि नेपाल आउन लागेका हुन्।
भारत सरकारको सहयोगमा मंसिरबाट सञ्चालन हुन लागेको जनकपुर–जयनगर रेल सेवाको उद्घाटनका लागि मोदी जनकपुर आउन लागेको बुझिएको छ। सम्भवतः जयनगरबाट जनकपुरका लागि छुट्ने रेलबाटै उनी जनकपुर आउने छन्।
भारतको मध्यप्रदेश, छत्तीसगढ, राजस्थान, मिजोरम र तेलंगानामा चुनावी माहोल बढिरहेको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लागेकाले उनको भ्रमणलाई अर्थ पूर्णरुपमा लिइएको हो।
भारतीय न्यूज एजेन्सी एएनआइका अनुसार राजकीय भ्रमणका लागि मोदी मंसिर १२–१३ गते आउने भएका हुन्। १२ गते नै विवाहपञ्चमी पर्दछ। भगवान राम र जानकीको विवाह भएको दिन अर्थात् विवाह पञ्चमीको अवसरमा मोदीले जनकपुर भ्रमण गर्ने र रेलको समेत उदघाटन गर्ने बताइएको छ। हिन्दू धर्मावलम्बीको विश्वास जित्नका लागि मोदी विवाह पञ्चमीकै अवसरमा नेपाल भ्रमण गर्न आउने र त्यसै क्रममा जनकपुर भ्रमण गर्ने स्रोतको भनाइ छ।
केही अघि विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी पनि कैलाश मानसरोवर यात्रामा गएका थिए। नेपाल हुँदै तिब्बतको मानसरोवर गएका गान्धीले आफूलाई हिन्दु भन्दै चित्रित गरेका थिए। योसँगै मोदीले बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण समेत गर्ने बताइएको छ।
पछिल्लो पटक उनी भदौ १४ र १५ गते सम्पन्न चौँथो विमिस्टेक बैठकमा भाग लिन नेपाल आएका थिए।
त्यसअघि उनले गत २८ र २९ वैशाखमा मुक्तिनाथ समेत भ्रमण गरेका थिए। २०७१, १० मंसिरमा नेपालमा भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनको भाग लिन मोदी नेपाल आएका थिए। मोदीले पहिलो नेपाल भ्रमण २०७१ साल साउन १८ गरेका थिए।