प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले जंगल फडानी गरेर बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने काम अाफूहरूलार्इ स्वीकार्य नहुने बताएका छन्।
प्रदेश २ विपद व्यवस्थापनबाट सबभन्दा बढी प्रभावित रहेको बताउँदै उनले वातवरणीय विनास गरेर गरिने विकास आफूहरूले कुनै हालतमा स्वीकार नगर्ने बताएका हुन्।
उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशभरि हरित प्रदेश योजना अन्तर्गत शुक्रवार आयोजना गरेको विक्षारोपन कार्यक्रमलाई धनुषाधाममा सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि प्रदेश सरकारले जग्गा उपलब्ध गराउन तयार रहेको बताए। उनले भने, ‘प्रदेश २ विपद व्यवस्थापनबाट सबैभन्दा बढी प्रभावित प्रदेश हो। त्यसैले हामी समयमै सचेत भएर वातावरण संरक्षण गर्नुपर्छ।’
मन्त्री यादले भने,‘अहिले निजगढमा साढे २४ लाख रूख विरूवा काटेर अन्तर्राष्ट्रिय विमानस्थल बनाईँदै छ। यो विकासको नाममा ठूलो विनास हो। यसले विकराल रूप लिन सक्छ।’ मधेसमा विकासको नाउमा पटक–पटक जंगलको विनास गर्ने गरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले अब प्रदेश सरकार यसका लागि गम्भीर रहेको बताए। चुरे संरक्षणका लागि पनि प्रदेश सरकारले छिट्टै कदम उठाउने भन्दै वातावरण संरक्षण तथा सन्तुलनका लागि लागि हरित प्रदेश योजना ल्याएको उनको भनाई छ।
शुक्रबार प्रदेश २ का आठवटै जिल्लमा करिब ५० हजार वृक्षारोपन गरिएको छ। वृक्षारोपन कार्यक्रममा मुख्यमन्त्री, मन्त्री, प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि लगायत सर्वसाधारणहरूको समते सहभागिता रहेको थियो।