प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरी सरकारको अभिन्न अंग भएकाले प्रदेश प्रहरी ऐनले संघीयतालाई आत्मसाथ गर्ने बताएका छन्।
बिहीबार जनकपुरमा ६३ औँ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले वर्तमान प्रहरी प्रणालीलाई पुनः संरचना गरी मुलुकमा सक्षम, सुदृढ र व्यवसायिक प्रहरी संगठनका रूपमा रूपान्तरण गर्नु आजको आवश्यकता रहेका बताए।
संविधान अनुरूप नै आफूहरू प्रदेश प्रहरी गठन गर्न लागेको बताउँदै मुख्यमन्त्री राउतले छिट्टै प्रदेशसभाबाट प्रदेश प्रहरी ऐन पास हुने विश्वास व्यक्त गरे। प्रदेशमा शान्ति सुरक्षा कायम गर्न सरकार प्रहरीसँग समायोजन, सहकार्य र समन्वय गर्ने बताए। उनले संविधानको मुल मर्म र भावनालाई आत्मसाथ गरी नेपाल प्रहरी संगठनलाई संघीय प्रहरी र सातवटै प्रदेश प्रहरी संगठनमा पुनः संरचना गर्नुपर्ने उल्लेख गरे।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मुलुकमा प्रहरीको गौरवमय इतिहास रहेको बताउँदै उच्च मनोवल र हौसलाका साथ आफ्नो ज्यानको प्रवाह नगरी देशवासीको जनधनको रक्षा गर्ने प्रहरीको साथमा आफूहरू सधैं रहने प्रतिबद्धता जनाए।
६३ औँ प्रहरी दिवसको अवसरमा महिला हिंसा र न्यूनिकरणमा प्रहरीको भूमिका विषयको प्रदेशस्तरीय निबन्ध प्रतियोगिताको समेत आयोजना गरिएको थियो। प्रतियोगितामा श्री महाविर उच्च माध्यमिक विद्यालय सर्लाहीका मनोज कुमार साह प्रथम, श्री संकटमोचन उच्च माध्यमिक विद्यालय धनुषाकी आँसु चौधरी द्वितीय र एभेरेष्ट उच्च माध्यमिक विद्यालय लहानकी सृष्टि थपा मगर तृतीय भएका छन्।
विजेतालाई प्रथम पुरस्कार २० हजार रूपैयाँसहित प्रमाण पत्र, द्वितीय हुनेलाई १५ हजारसहित प्रमाण पत्र र तृतीय हुनेलाई १० हजार रूपैयाँसहित प्रमाण पत्र वितरण गरिएको थियो। कार्यक्रममा प्रदेश २ मा प्रहरी कार्यालय स्थापनका लागि आर्थिक तथा जग्गा दिएर सहयोग गर्नेहरूलाई प्रसंशा पत्र र कदर पत्रले सम्मान गरिएको थियो।