विजय दशमी शुरु भएसँगै जनकपुरमा यतीखेर दशैको रौनक छाएको छ । जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिर लगायत एक दर्जन भन्दा बढी स्थानमा शक्ति स्वरुपा दुर्गाको प्रतिमा निर्माण गरी श्रद्धा तथा उल्लास पूर्वक दशैँ मनाइदै छ ।
प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलाई बेहुली झैँ सजाइएको छ भने प्रतिमा स्थापना गरी पूजा गरिने स्थानहरुमा भव्य पण्डालको व्यवस्था गरिएको छ । जनकपुरमा दशैँलाई भव्यता प्रदान गर्न आयोजकहरुले लाखौ खर्च गरेका छन् ।
राजा जनकका कूलदेवता भनिएको प्रसिद्ध राजदेवी मन्दिरमा फूलैफूलको गेट बनाई झिलिमिली बत्ती जडान गरिएको छ । दशैंको उत्सव मनाउन प्रत्येक वर्ष जनकपुरका विभिन्न युवा कमिटीले मन्दिरहरुलाई सिंगारिने काम गर्दै आएका छन् ।
यस्तै, नगरको विभिन्न चोकमा दुर्गाको प्रतिमा बनाएर पूजापाठ गरिदैं छ । दुर्गा पूजा गरिने विभिन्न स्थानहरुमा विहानैदेखि श्रद्धालुहरुको घुइँचो रहने गरेको छ । श्रद्धापूर्वक मनाइने दशैँको अवसरमा विशेष गरी महिलाहरु एका बिहानै शक्तिपीठहरुमा पुगेर पूजाअर्चना गर्ने गरेका छन् । नेपालमै चर्चित रहेको जनकपुरको दुर्गा पूजा हेर्न पर्यटकहरुको समेत घुइँचो देखिन थालिएको छ ।
दशैंमा विशेषगरी रामन्दिर संगै रहेको राजदेवी मन्दिर, बौधी मन्दिर, अमरखाना मन्दिर आकर्षणको केन्द्र बनेपनि जनकपुरको मुरलीचोकमा वर्षौ देखी भगवतीको प्रतिमा बनाएर पुजा गरिंदै आएको छ भने भ्रमरपुरचोक, रामानन्दचोक रजौलमा समेत दुर्गाको प्रतिमा बनाएर पुजा गरिन्छ । दैनिक २ हजार देखी ३ हजारसम्म पर्यटक आउने जानकी मन्दिरमा दशैं बेला झन भीड बढेको देखिएको छ ।बाहिर बाहिर बस्ने जनकपुरका बासिन्दाहरु समेत पर्वको बेला घर आउँदा जनकपुर अहिले भरीभराउ देखिएको छ ।
यता, प्रदेश २ को ८ जिल्ला मध्ये प्रतिष्ठत शक्तिपीठहरु बाराको गढीमाई, पर्साको गहबामाई मन्दिर, धरहरबा पोखरी स्थित भगवती मन्दिरमा दशैंको विशेष आकर्षण देखिन्छ । यस्तै सिरहाको ढोरना भगवती र सप्तरीको सखडा स्थित छिन्नमस्ता भगवती, भारदह स्थित कंकालिनी र संसारीमाईमा दशंैको विशेष आकर्षण देखिएको छ ।
राजदेवीमा विशेष रौनक तर महिलालाई मन्दिर प्रवेश निषेध
जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा विशेष रौनक देखिन्छ । त्रेता युगमा राजा जनकको कुलदेवी रहेकी मान्यता रहेको राजदेवीको पूजा भव्यता तथा धुमधामका साथ गरिन्छ तर यही अवसरमा महिलालाई मन्दिरको गर्भगृह प्रवेश निषेध हुन्छ । घटस्थापना हुनु भन्दा पहिलेसम्म महिला पूरुष दुवैले राजदेवी भगवतीको स्थानमै गएर पूजा गर्न खुल्ला रहेपनि दशैंको अवसरमा महिलाले मन्दिर भित्र प्रवेश पाउदैनन् ।
दश दिनसम्म शक्तिस्वरुपा भगवतीको दश अवतारको पूजाअर्चना गरिने दसैंमा महिलाकै पूजामा महिलालाई प्रवेश निषेध गरिन्छ । पुरुषहरुले मन्दिरभित्र प्रवेश गर्न मिलेपनि श्रद्धालु महिलाले दशमीभरी मन्दिर बाहिर रहेको झ्यालबाट नै भगवतीको दर्शन र पूजापाठ गर्न बाध्य हुन्छन् । तराईमधेशको गौरव तथा जनकपुरको ऐतिहासिक र प्रसिद्ध राजदेवी मन्दिरमा दसैंको दश दिनसम्म महिलालाई मन्दिरभित्र भगवतीको दर्शन र पूजापाठमा रोक लगाउने परम्परा वर्षौ देखी रहि आएको छ । जनकपुरमा यो परम्पराको विरोध समेत भएको देखियो ।
कतिपय महिला अधिकारकर्मीहरुले यस्तो परम्परा तोड्नुपर्छ भन्दै विभिन्न विरोधका कार्यक्रमहरु समेत गरे । तर, वर्षौदेखि चल्दै आएको यो परम्परालाई तोड्ने साहस कसैले गर्न सकेको छैन । अधिवक्ता रेखा झा सहित विभिन्न अधिकारकर्मीले यो परम्परा मान्य नहुनेभन्दै जानकी मन्दिरकोे प्रांगणमै खुल्लारुपमा वहस कार्यक्रम समेत गरे ।
स्त्रीकै विभिन्न रुपलाई पूजागर्ने ठाउँमा स्त्रीलाई नै पूजास्थलमा जान नदिनु प्रति उनीहरुले आपती जनाए । महिलामाथी यो ठुलो अन्याय रहेको र यो निन्दनीय कार्य रहेको भन्दै अधिकारकर्मीहरुले प्रशासन संग गुहार समेत मागे । तर यस परम्परा बारे ठोस कदम भने चालिएको छैन । मन्दिरका पुजारीका अनुसार दसैंमा मन्दिरमा तान्त्रिक विधिले पूजापाठ हुने भएकोले महिलाको सहभागिता नगराउने गरिएको र खासगरी महिला महिनावारी हुँदा मन्दिरमा पस्न नहुने परम्परा छ ।
कारणवश त्यस्ता महिला भगवती नजिक पुगिहाले भने अनिस्ट हुन सक्ने त्रासले महिलालाई रोक लगाईएको बताईन्छ । केही स्थानीयका अनुसार कोही महिला बोक्सी विधि जान्ने हुन्छन् र ती महिललाले मन्दिर प्रवेश पायो भने भगवतीलाई मोहनी लगाउन सक्छ, त्यसैले मन्दिर प्रवेशमा रोक लगाउँदै आएको हो । तर जानकारहरु धर्म ग्रन्थमा दशैंको बेला महिलालाई मन्दिर प्रवेश गर्न नहुने कुरा कहिंकतै उल्लेख नरहेको बताउँछन् ।
धनुषामा मात्र १ हजार ५५ प्रहरी परिचालन दशैँको अवसरमा हुने भीडभाडलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष सुरक्षा योजना बनाएको छ । विशेषा सुरक्षाकालागि धनुषामा १ हजार ५५ प्रहरी परिचालन गरिएको प्रहरी उपरिक्षक गोबिन्द थपालियाले जानकारी दिएका छन् ।
विजया दशमीदेखि छठ सम्म हुने भीडभाडको क्रममा कुनै प्रकारक अप्रिय घटना रोक्न विशेष सुरक्षा योजना अन्तर्गत उक्त प्रहरी परिचालन गरिएको उनले बताए । जसमध्ये ६ सय ५० नेपाल प्रहरी, ३ सय ५० शसस्त्र प्रहरी र ५५ जना रष्ट्रिय अनुसन्धान प्रहरी खटाइएको प्रहरी उपरिक्षक थपलियाले जनाए ।