कानून बनाउने बहानामा कसैलाई पनि भ्रष्टाचार गर्न छुट नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । संघीय कानूनको सीमाभित्र रहन स्थानीय तहका पदाधिकारीलाई आग्रह समेत आयोगका प्रमुख आयुक्त घिमिरेले गरे ।
अन्यथा आयोग आगामी दिनमा चुप लागेर बस्न नसक्ने उनले चेतावनी समेत दिए । अहिले सबैभन्दा बढी आयोगमा स्थानीय तहका उजुरी गरेको भन्दै उनले स्थानीय तहलाई आयोगले निगरानीमा राखेको बताए ।
ठूला आयोजना जिम्मा लिएर अलपत्र पार्ने केही ठेकेदारको सुची आयोगले तयार पारिरहेको आयोगका प्रमुख आयुक्त घिमिरेले जानकारी दिए । आयोग विगत जस्तो जिम्मा लिएर काम नगर्ने निर्माण कम्पनीविरुद्ध चुप लागेर बस्न नसक्ने उनले बताए ।
बिभिन्न सरकारी कार्यालयहरुमा रहरले स्ट्रिङ अप्रेशन नगरिएको उल्लेख गर्दै प्रमुख आयुक्त घिमिरेले कुनै पीडित सेवाग्राही आफनो समस्या लिएर आउँदा आयोगसँग अर्को बिकल्प नहुने बताए ।
आयोगको कार्यालय बुटवलका प्रमुख रविलाल पन्थका अनुसार पाँच करोड २८ लाख ४५ हजार ५२२ रुपियाको लागतमा अख्तियारको प्रशासनिक र सुरक्षा भवन निर्माण सम्पन्न भएको हो । २०७२ जेठ १४ गते दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकोमा तीनबर्षमा निर्माण सम्पन्न भएको छ ।