सरकारलाई दिएकाे समर्थन फिर्ता लिएर राजपा नेपाल छठपछि आन्दोलनमा जाने तयारी गरेको छ।
दशैं अघिनै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर संविधान संशोधनमा ध्यान नदिएको सुशासन कायम गर्न नसकेको भन्दै सरकारलार्इ समर्थन गरिराख्नुकाे कुनै अर्थ नरहेकाे बताएका थिए। राजपाका अधिकांश नेताहरु अहिले छठ पर्व मनाउन तराईका जिल्लाहरुमा रहेकाले छठपछि काठमाडौंमा बस्ने पार्टीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न सक्ने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।
उनले स्पेस खबरसँग भने,‘अहिले हामी छठका लागि जिल्लामा छौं, यस पछि सबै साथीहरु बसेर सरकारलाई दिएको समर्थनबारे निर्णय लिन्छौं’। यसअघि पनि राजपा नेपालको अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समर्थन फिर्ता लिनेबारे जानकारी गराएका थिए।
तर, प्रधानमन्त्री ओलीले छठ लगत्तै सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउने जवाफ दिएका थिए। राजपा नेपालका नेताहरुले प्रधानमन्त्री ओलीले संशोधन गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म कुनै पनि प्रक्रिया अघि नबढाएकाले विश्वास नभएको बताएका छन्। राजपा नेपालको महासचिब केशब झाले अब चाँडै बैठक बसेर सरकारको समर्थनबारे निर्णय गर्ने बताए।
पटक पटक सरकारलाई भन्दा पनि आफूहरुका माग सम्बोधन नगरेकाले अब पनि कुर्ने पक्षमा आफूहरु नरहेको झाको भनाई छ। उनले भने,'मंसिरको १–२ गते सम्म हामी बैठक बसेर यसबारे निर्णय लिन्छौं।'
सरकारको समर्थन फिर्ता लिए पछि आन्दोलनको कार्यक्रम पनि तय गर्ने पनि उनले जानकारी दिए। कम्तिमा मंसिरको दोस्रो सातादेखि आन्दोलनमा जाने तयारी गरिएको पनि उनले बताए। संविधान संशोधन, रेशम चौधरीलाई संसदको सपथ एवं रिहाई, मधेस आन्दोलनका क्रममा लगाईएको झुठा मुद्दा फिर्ता लगायतका विभिन्न माग गर्दै राजपा नेपालले संघर्ष गर्दै आएको छ।
यि माग सम्बोधन गर्ने आश्वाससन दिए पछि राजपाले प्रधानमन्त्रीमा ओलीलाई समर्थन गरेको थियो।