नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले कञ्चनपुरको भीमदत्त नगरपालिका–२, खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कानूनी कारबाहीको दायरामा ल्याएरै छोड्ने बताएका छन्। उनले छिट्टै निर्मला पन्तका हत्यारा पक्राउ पर्ने पनि दाबी गरे।
बिहीबार बिहान काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीमा प्रहरी विटको नवनिर्मित भवन उद्घाटन गर्दै उनले भने,‘प्रहरीले धेरै तहबाट अनुसन्धान गरिरहेको छ। जसरी पनि निर्मलाका हत्यारा पक्राउ पर्छन्। यसमा ढुक्क हुनुस्।’
उनले अपराधमा संलग्न व्यक्ति जो कोही भएपनि त्यसलाई कानूनी दायरामा ल्याइने बताए। ‘जो सुकै होस् आपराधिक कार्यमा संलग्न हुन्छ भने कानूनी कारबाहीको दायरामा ल्याउँछौं,’प्रहरी महानिरीक्षक खनालले भने,‘अनुसन्धानका लागि सबैले प्रहरीलाई सहयोग गर्न जरुरी छ।’
खनालले कुनै एक जना प्रहरीको काम कारबाहीलाई मात्रै मूल्यांकन गरेर सिंगो प्रहरी संगठनलाई दोषी देखाउन नमिल्ने बताए। ‘संगठनको गरिमा नबुझ्ने प्रहरीमाथि कारबाही हुन्छ,’ उनले भने,‘तर, एक जना प्रहरीले गल्ती गर्यो भन्दैमा सिंगो प्रहरी संगठनलाई नै बद्नाम गर्न मिल्दैन। प्रहरी जनता रक्षक हो।’
उनले आफूले संगठनलाई बद्नाम गर्ने प्रहरीलाई कारबाही गर्न खुट्टा नकमाएको दाबी गरे।