विभिन्न माग राख्दै धनुषाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु धर्नामा बसेका छन्। नेपाल शिक्षक महासंघको आह्वान अनुसार उनीहरु शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा धर्नामा बसेका हुन्।
शिक्षक महासंघ गुणस्तरीय शिक्षाका लागि राजनीतिक दलहरुको घोषणापत्र अनुसार कुल बजेटको २० प्रतिशत र कुल ग्राहस्थ उत्पादनको ४ प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्नु पर्ने माग राख्दै धर्नामा बसेका हुन्।
शिक्षक महासंघले आधाभूतदेखि मावि तहसम्म निःशुल्क शिक्षाको व्यवस्था व्यवहारमा लागू गर्नु पर्ने , शिक्षक सेवा आयोगको संवैधानिक स्तरको बनाउन, राष्ट्रिय शिक्षा आयोगको गठन, विद्यालय तहको शिक्षाको संघ, प्रदेश र स्थानीय तहका साझा अधिकार क्षेत्रभित्र राख्ने, शिक्षक काउन्सिल गठन गर्नु पर्ने लगायतका माग गर्दै आएको छ।
शिक्षक संस्थाहरुको संयुक्त समिति धनुषा शिक्षक महासंघको मागलाई समर्थन गर्दै शुक्रबार विहान १० बजेदेखि २ बजेसम्म धर्नामा बसेका छन्। शिक्षकहरु धर्नामा बसेपछि विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ।
त्यस्तै, धनुषाका मिथिला बिहारी नगरपालिका अन्तर्गतका शिक्षकहरुको तलब निकासा नगरेको भन्दै यसका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय, जिल्ला प्रशासन कार्यालय र समन्वय इकाई कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन्।