नेपाली कांग्रेसकाे भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघको लामो समयदेखिको विवाद अाज टुङ्गो लाग्ने भएको छ।
नेविसंघको केन्द्रीय कार्यसमितिको समयावधि अाज बेलुका सकिँदै गर्दा दिउँसाे बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले विकल्पका रुपमा अर्को समिति निर्माण गर्ने वा अहिलेकै समितिलाई नै महाधिवेशनसम्म जाने गरी समय बढाएर जाने भन्नेबारेमा निणर्य लिने तयारी गरेको हो।
“आइतबार २ बजे बस्ने बैठक अगाडि नेविसंघको महाधिवेशन सम्बन्धमा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा गठित पार्टीले बनाएको निर्देशक समितिले विधानमा गरिनुपर्ने परिमार्जनलगायत अन्य विषयमा केही धारणा लिएर आउनेछ”, शनिबार बसेकाे बैठकपछि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
यसअघि शनिबार दिउँसो १ बजे बोलाइएको बैठक दिनभरि अनौपचारिक बसेर बेलुका मात्रै औपचारिकरुपमा शुरु भएको थियो। पार्टीका सभापति शेरबहादुर देउवा पार्टी कार्यालय पुग्दै गर्दा नेविसंघ नेताहरुले नाराबाजी गरेका थिए। पार्टीको केन्द्रीय कार्यसमितिको बैठक अाज अपराह्न २ बजे बस्नेछ।