प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सूचनाको हक कार्यान्वयनमा सबैलाई प्रतिवद्ध हुन आग्रह गरेका छन्। राष्ट्रिय सूचना आयोगले शुक्रवार जनकपुरमा आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधि र प्रशासकीय अधिकृतहरुकालागि सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सूचनाका हक कार्यनवय गर्न आग्रह गरेका हुन् ।
उनले सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउनुका साथै भ्रष्टाचार न्युनिकरण र पार्दशितामा समेत महत्वपूर्ण भूमिका खेल्ने भएकाले सूचनाको हकलाई पूर्णरुपमा कार्यान्वयन गर्न स्थानीयतहका जनप्रतिनिधिहरुलाई आग्रह गरे । मुख्यमन्त्री राउतले सूचनाको हक कार्यान्वयनमा जनप्रतिनिधीभन्दा पनि राष्ट्रसेवक कर्मचारीहरुलाई अगाडी आउनु पर्ने उल्लेख गरे ।
विगतको समयमा प्रदेश नं. २ भ्रष्टाचारको विषयमा धेरै बदनाम भएको उल्लेख गर्दै उनले अबको दिनमा ती बदनामीलाई अन्त्य गर्दै प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी जनप्रतिनिधिहरुको काँधमा आएको स्मरण गराए । उनले भ्रष्टाचार न्युनिकरणका लागि प्रदेश सरकारले छिट्टै सुशासन सम्बन्धि ऐन ल्याउन लागेको उल्लेख गर्दै ऐन आएपछि गडबडी गर्न खोज्ने जो कोहीलाई पनि कानूनको कठघारामा उभिनु पर्ने चेतावनी दिए ।
प्रदेश सभाले दुई/तीनदिन भित्रै करार ऐन पारित गर्न लागेको जानकारी दिँदै उनले स्थानीय तहमा देखिएको कर्मचारी अभावको समस्या समाधान गरिने उल्लेख गरे । कार्यक्रममा प्रदेश भरिकै स्थानीय तहका प्रमुख उपप्रमुख र प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको थियो ।