प्रदेश २ मा प्रहरी भर्ना प्रक्रिया सुरु भएको छ। नेपाल प्रहरीअन्तर्गत प्रहरी सहायक निरीक्षक (असई) पदमा रिक्त पदपूर्तिका लागि भर्ना प्रक्रिया सुरु गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
मुलुकमा संघीयता कार्यान्वयनमा आइसकेपछि प्रदेशबाट पहिलो पटक प्रहरी भर्ना प्रक्रिया सुरु भएको छ। प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक पदपूर्ति गर्न १५ असोजमा दरखास्त आह्वान गरेको थियो। प्रदेश २ बाट असई पदका लागि १ हजार ६ सय ६१ जनाले आवेदन दिएका थिए। आवेदन दिनेहरुमा ५९ जना महिला र बाँकी पुरुष छन्।
सई पदका लागि प्रदेश २ बाट आवेदन दिनेहरु परीक्षार्थीहरुको प्रारम्भीक स्वास्थ्य परीक्षण र बाधा पारसम्बन्धी परीक्षा जनकपुरस्थित संघीय प्रहरी इकाई कार्यालमा सुरु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दानबहादुर थापाले जानकारी दिए।
थापाका अनुसार प्रधान कार्यालयले देशभर १०८ प्रहरी निरीक्षक, ५२४ असई, ६ हजार २४४ प्रहरी जवान र ३२० प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गरेको छ। जसमध्ये प्रहरी निरीक्षकहरुको परीक्षा केन्द्रमा भइरहेको छ भने सईका लागि सबै प्रदेशहरुमा सोमबारदेेखि परीक्षा सुरु भएको उनले बताए। प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीको परीक्षासमेत प्रदेशमै सञ्चालन गरिने थापाले जानकारी दिए।
प्रदेश २ मा प्रतिस्पर्धीहरुको चापलाई हेरेर प्रत्येक दिन दुई सयको दरले १९ मंसिरसम्म परीक्षण कार्य सञ्चालन हुने थापाले बताए। प्रदेशस्तरमा प्रदेशका प्रहरी प्रमुखकको नेतृत्वमा पाँच सदस्यीय प्रदेश प्रहरी पदपूर्ति उपसमिति गठन गरिएको छ।
समितिमा प्रदेश प्रहरी प्रमुख डीआईजीसहित प्रहरी प्रधान कार्यालयका एक प्रतिनिधि, लोकसेवा आयोगका एकजना प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रतिनिधि रहने व्यवस्था छ।