नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटीको बैठकले जिल्ला र जनसङ्गठनको एकताको टुङ्गो लाग्ने बताएका छन् ।
मङ्सिर २९ गते स्थानीय कमिटीको बैठक बोलाइएको जानकारी दिँदै अध्यक्ष दाहालले प्रदेश कमिटीको टुङ्गो लागिसकेकाले आगामी स्थायी कमिटीबाट जिल्ला र जनसङ्गठनको एकता गर्ने लक्ष्य बनाएको जानकारी दिए।
जनसांस्कृतिक महासङ्घ नेपालद्वारा जनगायक स्व खुशीराम पाख्रीनको स्मृतिमा शुक्रबार राजधानीमा भएको सांस्कृतिक कार्यक्रममा उनले जनस्तर एवं पार्टीभित्र भावनालाई पार्टीको स्थायी कमिटी बैठकमा एजेण्डा बनाएर लैजाने विश्वास दिलाए ।
जनताका बीचमा अभियान लैजाने र सांस्कृतिक आन्दोलन चलाउने कुरा बिर्सिएर विकासलाई बोझ ठान्न थालियो भने समृद्धि र सुखी नेपाली हुन नसक्ने भन्दै दाहालले विकासलाई अभियानका रुपमा अगाडि बढाउनुपर्ने र उत्सवका रुपमा लैजानुपर्नेमा जोड दिए ।
भइरहेकै कर्मचारीतन्त्र र राज्य संरचनाबाट कम्युनिष्टले देखेको जस्तो विकास सम्भव नभएको उनले भनाइ थियो । अध्यक्ष दाहालले सातै प्रदेशमा हुने प्रशिक्षण कार्यक्रम चलाउने कुरा जस्तै सांस्कृतिक आन्दोलनका निम्ति पनि अभियान चलाउने योजना ल्याइने प्रतिबद्धता जनाए ।
जनमतको निर्माण साहित्य, कला र गीत सङ्गीतले गर्ने बताउँदै अध्यक्ष दाहालले खुशीराम पाख्रीन कम्युनिष्ट उद्देश्यका निम्ति समर्पित योद्धा भएको स्मरण गर्नुभयो । सपना पूरा गर्न सबैले सङ्कल्प गर्नुपर्नेमा उनको जोड थियो ।