मन्त्रालयका कामलाई थाती राखेर मन्त्रीहरू जिल्ला भ्रमण गर्नेक्रम पछिल्लो समय बढेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७५–७६ मा मन्त्रीका लागि अनुगमन तथा मूल्यांकनमा १ करोड २३ लाख रुपैयाँ विनियोजन गरिएको थियो।
सोमध्ये साढे चार महिनामै मन्त्रीहरूले ७२ लाख ६३ हजार ४४२ रुपैयाँ घुमेरै सकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। जिल्ला भ्रमणका क्रममा मन्त्रीहरूले भ्रमण तथा हवाई टिकटमा मात्रै ५४ लाख ५७ हजार ६४२ रुपैयाँ खर्च गरेका छन् भने दैनिक भ्रमण भत्ताबापत उनीहरूले १७ लाख ६५ हजार ८ सय रुपैयाँ राज्यकोषबाट बुझेका छन्। यस अवधिमा मन्त्रीहरूले मनोमानी रूपमा राज्यकोषबाट लाखौं रुपैयाँ खर्चेर २० पटकसम्म जिल्ला भ्रमण गरेका पाइएको छ।
स्रोतका अनु्सार जिल्ला अनुगमनको बहानामा गएका मन्त्रीहरूको मुख्य काम भने राजनीतिक भेटघाट गर्नु र आफ्नै व्यक्तिगत काम फत्ते गर्नुमा नै बित्ने गरेको छ। तर, उनीहरूले अनुगमन गरेको भन्दै कागज मिलाएर प्रतिवेदनसहित प्रधानमन्त्री कार्यालयमा रकम माग गर्ने गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।
वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा २४ जना मात्रै मन्त्री छन्। अहिले मन्त्रीको संख्या कम भए पनि उनीहरूको जिल्ला भ्रमण गर्दा भएको खर्च हेर्दा विगतमा ६४ जनाको जम्बो सरकारका मन्त्रीले गर्ने गरेको भ्रमणलाई समेत बिर्साइदिने गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। राजधानी दैनिकमा खबर छ।