पूर्व राष्ट्रपति डा. रामवरण यादवले संविधान कार्यान्वयन नहुने खतरा रहेको बताएका छन्।
यादवले विगतमा हतारमा संविधान जारी गरिएकाले अहिले त्यसको कार्यान्वयनमा चुनौती रहेको बताएका हुन्। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद’ पुस्तकको विमोचन गर्दै डा. यादवले भने,‘यो संविधान लागू हुन अझै धेरै बाँकी छ।’
संविधानमा सबैका भावना समेट्न नसकिएकाले अहिले पनि असन्तुष्टिका स्वरहरु आइरहेको तर्फ संकेत गर्दै उनले ती भावनालाई क्रमश समेटर संविधान कार्यान्वयन गर्नु पर्ने तर्फ पनि ध्यानकर्षण गराए।
विगतमा आफूले नेपाली कांग्रेसबाट राजनीति गरेको स्मरण गर्दै उनले अहिले कांग्रेसले तराईलाई उपेक्षा गरेको आरोप पनि लगाए। उनले भने,‘कांग्रेसमा को छ नेताहरु जसले हिमाल, पहाड र तराईमा बसेर संगठन गरेको होस्। माफ गर्नुहोला कांग्रेसमा यस्ता नेताहरु कोही पनि हुनु हुन्न।’ उनले अब कांग्रेसको संगठन बनाउन नेतृत्व उदार भएर लाग्नुपर्ने बताए।
चुरे संरक्षणबारे पनि केही समय खर्च गरेका प्रथम राष्ट्रपति डा. यादवले तराई क्षेत्रलाई मरुभूमीकरण गर्न अहिले सरकार लागि परेको गुनासो गरे।
पुस्तकका लेखक समेत रहेका कांग्रेस वरिष्ठ नेता पौडेलले आफूले यसलाई लोकतान्त्रिक समाजवादको दस्तावेजका रुपमा ल्याएको बताए। उनले कांग्रेसमा विचारको खडेरी भयो भन्नेहरुलाई जवाफ दिन पनि पुस्तक लेख्नु परेको उल्लेख गरे।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. प्रदीप गिरिले पुस्तकको समिक्षा गर्दै नेपाली लोकतान्त्रिक समाजवादले मात्रै मुलुकको भविष्य उज्वल हुने तर्क गरे। यस्तै, प्राध्यापक डा. लोकराज बरालले अहिलेका पार्टीहरुले समाजवादको व्याख्या गर्दा आफू अनुकुल गर्ने गरेको बताए।