भारतका तीन ठूला राज्य छत्तीसगढ, राजस्थान र मध्यप्रदेशमा भएको निर्वाचनबाट सत्तारुढ दल भारतीय जनता पार्टीलाई पछाडि पार्दै सरकार बनाउने पक्कापक्की भएपछि कंग्रेस आईबाट मुख्यमन्त्री को बन्ने भन्ने बहस शुरु भएको छ।
छत्तीसगढमा लगातार चौथो पटक भाजपालाई सरकार बनाउन रोक लगाउन सफल भएको कांग्रेसले भूपेस बघेललाई मुख्यमन्त्री बनाउने तयारी गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। यद्यपि मुख्यमन्त्रीको रुपमा टीएस सिंहदेलाई पनि मुख्यमन्त्रीको उम्मेद्वारका रुपमा हेरिएको छ।
राजस्थानमा कंग्रेसले १०० स्थानमा जित हात पारेको छ। सरकार गठन गर्न कंग्रेसलाई मायावतीको पार्टीले समर्थन गर्ने घोषणा गरिसकेको छ। त्यसैले अशोक गहलोत मुख्यमन्त्री बन्ने सम्भावना बढी देखिएको हो। संकट मोचकको रुपमा हेरिने गहलोत अन्य पार्टीलाई पनि मिलाएर लैजान सक्ने सामथ्र्य राख्छन्।
यसअघि पनि मुख्यमन्त्री भइसकेका गहलोतले बहुमत नहुँदा पनि ५ बर्षे कार्यकाल सफलता पूर्वक सम्पन्न गरेका थिए। यो राज्यमा सचिन पाइलटको नाम आए पनि उनी नयाँ भएकाले एकै पटक मुख्यमन्त्री बनाउने सम्भावना न्यून देखिन्छ। राजस्थानमा गहलोत मुख्यमन्त्री बन्ने निश्चित प्राय जस्तै छ।
मध्यप्रदेशमा कमलनाथको नाम सबैभन्दा अगाडि छ। तर त्यहाँ कंग्रेसले आन्तरिक समीकरण मिलाउन जरुरी देखिएको छ। कमलनाथ र सिन्धियाका बीचमा मनमुटाव रहेकाले दिग्विजय सिंहले अजय सिंह ‘राहुल भैया’ लाई मुख्यमन्त्री बनाउँन सक्ने आँकलन गरिएको छ।