सरकारले विभिन्न राजनीतिक माग राखेर आन्दोलनरत पक्षसँग वार्ता गर्न बनाएको वार्ता टोलीको अवधि १५ दिन थप गरेको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्काे निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्दे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधी मन्त्री गोकुल प्रसाद बास्कोटाले सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीलाई बाँकी काम सम्पन्न गर्न १५ दिन अवधि थप गरेको जानकारी दिए ।
बैठकले भारतीय रुपैयाँ २ सय , ५ सय र २ हजारका नोटहरू ल्याउन वा साथमा राख्न गैरकानुनी हुने भएकाले ती नोटहरू चलन चल्तीमा नल्याउन, नबोक्न र नराख्न सूचना प्रकाशन गर्ने निर्णय गरिएको छ । बैठकले बालाजु–त्रिशुली–छहरे–विदुर सडक योजना स्तरोन्नतिका लागि करिब २६ सय रुख हटाउन स्वीकृति दिने निर्णय पनि गरेको बास्कोटाले जानकारी दिए ।
त्यस्तै साना किसानहरूले तत्कालीन साझा सहकारी संस्थाहरूबाट लिएको ऋण मिनाहा गर्ने निर्णय गरिएको छ भने ग्रामीण स्वावलम्बन कोषका कार्यक्रमहरू साना किसान लघुवित्त वित्तीय संस्थाबाट सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरिएको छ । त्यस्तै प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश परामर्शका लागि लोकसेवाआयोगमा पठाउने निर्णय गरिएको छ । त्यस्तै बैठकले नेपाल र कम्बोडिया सरकारका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णय गरिएको जानकारी दिए ।
त्यस्तै २०६६ कात्तिक २४ गते अज्ञात समूहद्वारा अपहरण गरी हत्या गरिएका सिराहा जिल्ला निवासी प्रमोद साहकी श्रीमती गीतादेवी साहलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको छ । काठमाडौं–तराईरमधेस द्रुतमार्ग निर्माणका लागिआवश्यक जग्गा अधिग्रहण गर्ने क्रममा विभिन्न कारणले क्षतिपूर्ति दिन छुट भएका ९६ जना र कार्यदल वेसक्याम्पभित्र परेका ५ जना गरी जम्मा १०१ जनाको ऐलानी जग्गा र त्यसमा निर्मित संरचनावापत् क्षतिपूर्ति दिने निर्णय गरिएको उनले जानकारी दिए ।