गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन पुस २३ गतेबाट सुरु हुने भएको छ । शनिबारको मन्त्रीपरिषद् बैठकले पुस २३ गतेअधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता रामशरण बस्नेतले पुस २३ गते दिउँसो १ बजे सुरु हुने गरी अधिवेशन आह्वान गर्न सिफारिस गरिएको बताए । वर्षे अधिवेशन असोज ८ गते अन्त्य भएको थियो । प्रदेश सभाका लागि आवश्यक बिजनेस तयार भएकाले सरकारले हिउँदे अधिवेशनको तयारी थालेको हो । यो अधिवेशनको लागि सरकारले ८ विधेयक तयार पारेको छ । १४ वटा विधेयक बनाउन विभिन्न मन्त्रालयलाई मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ ।
पहिल्यै दर्ता भएका ३ विधेयक पनि यो अधिवेशनमा पारित हुनेछन् । यसअघि दर्ता भएका प्रदेशसभा सचिवालय ऐन, सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र वर पीपल चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक छलफलकै क्रममा छन् । प्रदेशसभाले हालसम्म १९ कानुन पारित गरेको छ । प्रदेश सभा नियमावली २ पटकसम्म संशोधन गरिएको छ ।
शनिबार बसेको मन्त्रीपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयका ३ कार्यविधि पारित गरेको छ । स्वरोजगार सिर्जना कार्यक्रम, युवा, महिला, अपांगता भएका नागरिकको लागि क्षमताका आधारमा व्यावसायिक तकथा सीपमूलक कार्यक्रम, र सडक बालबालिका पुनस्र्थापना केन्द्र र श्रमिक बालबालिकाका लागि अस्थायी सिकाई केन्द्र, सञ्चालन कार्यविधि २०७५ स्वीकृत गरिएको प्रवक्ता बस्नेतले बताए ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको वाणिज्य तथा आपूर्तिसम्बन्धी कार्यक्रम सञ्चालन मार्गदर्शन निर्देशिका, २०७५ पनि शनिबारको बैठले स्वीकृत गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहने गरी कास्कीमा भूमिगत जलस्रोत तथा सिँचाई कार्यालय स्थापना गर्न मन्त्रिपरिषदले सहमति दिएको छ । मन्त्री बस्नेतका अनुसार यो कार्यालयका लागि आर्थिक भार बढ्ने छैन ।