नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आठ बर्षभित्र बुढीगण्डकी जलाशययुक्त परियोजना बनिसक्ने दाबी गरेका छन्। शुक्रबारदेखि शुरु भएको दोस्रो आरुघाट महोत्सबको उद्घाटन गर्दै अध्यक्ष दाहालले बुढीगण्डकी परियोजना नबन्ने हो कि भनेर आशंका नगर्न पनि आग्रह गरे।
आफू यहाँ आउनुअघि उर्जामन्त्री र मन्त्रालयका अधिकारीहरुसंग यो परियोजनाबारे सोध्दा उहाँहरुले ८ बर्षभित्र निर्माण भइसक्ने जानकारी गराउनु भएको भन्दै अध्यक्ष दाहालले निर्माण सम्पन्न नभएमा ती अधिकारी उम्कन नपाउने उल्लेख गरे।
उनले यो परियोजना सम्पन्न भएसंगै नेपालमा लोडसेडिंगको समस्या सधैंका लागि हल हुने बताए। आरुघाट, खहरे लगायतका केही ठाउँको मुआब्जा यसै आर्थिक बर्षभित्र निर्धारण गरिसक्ने उनले ठोकुवा गरे।
कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले परियोजना प्रभाबितहरुलाई उचित मुआब्जा दिलाउन र उनीहरुको पुनर्बासका लागि आफ्नो पार्टी कांग्रेस सधैं लागिपर्ने बताए। आरुघाट लगायतका क्षेत्रको मुआब्जा निर्धारणका लािग सरकारले ढिलाई गरेकोमा उनले आपत्ति जनाए।
आफू गृहमन्त्री भएका बेला नै परियोजना प्रभाबितहरुलाई तत्काल मुआब्जा बितरण गर्न निर्देशन दिएको स्मरण गर्दै उपसभापति निधिले प्रश्न गरे दुईतिहाईको सरकारलाई मुआब्जा दिन कसले छेकेको छ?
कांग्रेस नेता एवं पूर्बमन्त्री डा. मिनेन्द्र रिजालले परियोजना प्रभाबितहरुलाई मुआब्जा रकम दिन ढिलाई गरेकोमा आपत्ति जनाए। कांग्रेसका अर्का नेता सुरेन्द्र पाण्डेले अब कुरा होइन काम गरेर देखाउनु पर्ने बताए। बुढीगण्डकी परियोजनाबारे सरकारपिच्छे फरक नीतिका कारण परियोजना नै अन्यौग्रस्त भएको टिप्पणी गरे।
पूर्बमन्त्री चिनकाजी श्रेष्ठले बिस्थापितहरुलाई पुनर्बासको व्यबस्था गरिनुपर्नेमा जोड दिए।