नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिका कारण नै राजनीतिक स्थायित्वको वातावरण सम्भव भएको बताएका छन् ।
नेपाल देशभक्त गणतान्त्रिक मञ्चद्धारा आइतबार काठमाडौमा आयोजना गरिएको बाबा बस्नेतद्धारा लिखित खण्डकाव्य सेतो फरिया विमोचन कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । अहिले सबैको एजेण्डा समृद्धि र बिकास नै भएको भन्दै प्रचण्डले यसका लागी पनि राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
मुलुक इतिहासकै राम्रो अवसरका रुपमा रहेको भन्दै उनले बिकास र समृद्धिका लागि कुनै राजनीतिक समस्या नरहेको र दुई तिहाइको सरकार रहेको बताए । अध्यक्ष प्रचण्डले विकास, समृद्धि र निर्माणको निम्ति दुई तिहाई सरकारको यस्तो ऐतिहासिक अवसर कमै मिल्ने गरेको बताए । प्रचण्डले प्रगतिशिल भनिएका संसारका संविधानले राख्न नसकेका शिक्षा स्वास्थ्य रोजगारीलाई जनताको मौलिक अधिकार राख्न नेपाल सफल भएको तर्क गर्दे वर्तमान संविधानलाई इतिहासकै अब्बल संविधान भएको दाबी गरे ।
अध्यक्ष प्रचण्डले मुलुकको परिवर्तन र स्थायीत्व गुम्ने खतरा कायमै रहेको भन्दै सवै सजक भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा देशभक्त गणतान्त्रिक सम्मान २०७५ बाट केही व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।