नेपाली कांग्रेस रुपन्देहीले प्रदेश पाँचको स्थायी राजधानी बुटवल तोक्न माग गर्दै खबरदारी सभाको आयोजना गरेको छ।
करिब एक लाख जनता बुटवलमा उतारेर बृहत्त खबरदारी सभा गर्न लागेको कांग्रेस रुपन्देहीले जनाएको छ। तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश पाँचको बुटवलसहित सातवटै प्रदेशको अस्थायी राजधानी तोकेको थियो।
अस्थायी मुकाम तोकेको एक वर्ष पूरा हुँदासम्म पनि प्रदेश सरकारले स्थायी राजधानी तोक्न र प्रदेशको नामाकरण गर्न नसकेको भन्दै कांग्रेस रुपन्देहीले बिहीबार बुटवलमा आमसभा गर्न लागेको सचिव रामकृष्ण खाँणले जानकारी दिए। अस्थायी राजधानी तोकेको एक वर्ष हुँदासम्म पनि स्थायी राजधानी नतोक्नु र नामाकरण नगर्नुले राजधानी अन्यत्रै तोक्न र नामाकरण समेत अरु नै राख्न षड्यन्त्र भएको आभाष भएको कांग्रेस रुपन्देहीको आरोप छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, पुष्पा भुषाल, देवेन्द्रराज कंडेल, मानबहादुर विक लगायत शीर्ष नेताहरूले कार्यक्रममा सम्बोधन गर्ने खाँणले बताए। बुटवलको ट्राफिक चोकमा हुने खवरदारी सभा अघि बुटवल राजमार्ग चौराहाबाट पञ्चे बाजासहितको जनप्रदर्शन समेत गरिने कार्यक्रम छ।