प्रदेशमन्त्रीले सचिवलाई कुटपिट गरेको भन्दै प्रदेश नम्बर २ का कर्मचारी आन्दोलित भएपछि शुक्रबार सरकारी कार्यालयको काम प्रभावित भएको छ।
सचिव कुट्ने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवमाथि कारबाहीको माग गर्दै कर्मचारीले शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कामकाज ठप्प पारेका हुन्।
कर्मचारीमाथि हातपात गर्ने मन्त्रीलाई कारबाहीको माग गर्दै अधिकारिक ट्रेड युनियन धनुषाको नेतृत्वमा गत बुधबारदेखि कर्मचारी आन्दोलित भएका हुन्। कर्मचारी ‘पेन डाउन’ गरी आन्दोलनमा उत्रेपछि जिल्ला प्रशासन कार्यालय, यातायात, मालपोत, नापी, राजस्वलगायतका कार्यालयमा कामकाज ठप्प भएको छ।
आधिकारिक ट्रेड युनियनले यसअघि बिहीबार बिहान १० बजेदेखि १२ सम्म ‘पेन डाउन’ गरी कामकाज ठप्प पारेका थिए। गरिबी निवारण कार्यक्रम अन्तर्गत क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रमका लागि मन्त्री यादवले सिफारिस गरेको एनजिओ नपरेपछि झोक्किएर आफूलाई कुटपिट गरेको सचिव झाको आरोप छ।
गत आइतबार उद्योग, वन, पर्यटन तथा वातावण मन्त्रालयका सचिव झाले आफूलाई सभामुख र प्रदेशसभा सदस्यकै अगाडि कुटपिट गरेको दाबी गरेका थिए। सचिव झालाई कुटपिट गरेको भन्दै मन्त्री यादवलाई कारबाही गर्न निजामती कर्मचारीले सोमबार मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापन पत्र बुझाएका थिए।
कुटपिट घटना छानविनका लागि प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको छ। समितिमा मन्त्रायलका सचिव दीपक सुवेदी र मुख्यमन्त्री कार्यालयका सचिव हरि फुयाल सदस्य छन्। घटनाको छानबिन गरी एक साताभित्र समितीलाई आफ्नो प्रतिवेदन बुझान भनिएको छ।