संवैधानिक परिषद्ले ५ आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री केपी ओलीकाे अध्यक्षतामा बसेको परिषद् बैठकले चार समावेशीसहित ५ आयोगका अध्यक्ष नियुक्तिको सिफारिस गरेको हो । संविधान निर्माण भएको तीन वर्ष नाघिसक्दा बल्ल आयोगमा रहने अध्यक्षको नाम सिफारिस भएको छ ।
बैठकले पूर्वसचिव बालानन्द पौडेललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, पूर्वसचिव शान्तराज सुवेदीलाई राष्ट्रिय समावेशी आयोग, विजयकुमार दत्तलाई मधेसी आयोग, विष्णुकुमार चौधरीलाई थारू आयोगमा र समिम अन्सारीलाई मुस्लिम आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको बैठकपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले जानकारी दिए ।
आयोगमा विभिन्न ४ जना सदस्य पनि रहने हुनाले बाँकी सदस्यको नाम बारे अझैँ टुंगो लागेको छैन ।बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भने अनुपस्थित थिए ।
सरकारले गत ५ भदौमा रिक्त रहेका विभिन्न ८ वटा संवैधानिक आयोगमा अध्यक्षसहित चार–चार सदस्यको पद पूर्ति गर्न सूचना निकालेको थियो ।
संवैधानिक व्यवस्थाअनुसार आयोगको अध्यक्ष वा सदस्य पदसँग सम्बन्धित क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको, मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक उत्तीर्ण गरेको, ४५ वर्ष उमेर पुगेको, नियुक्ति हुँदाका बेला कुनै राजीतिक दलको सदस्यता नलिएको हुनुपर्ने लगायतका प्रावधानहरू छन् ।
संवैधानिक परिषद् सचिवालयले उनीहरूको नाम संसदीय सुनुवाइका लागि आज नै संघीय संसद् सचिवालयमा पठाएको छ।सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले ५ वटै आयोगमा अध्यक्ष नियुक्त गर्ने छिन्।
अध्यक्ष तथा सदस्यको पदावधी ६ वर्ष लागि तोकिएका यी आयोग संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि संघीय संसदले पुनरावलोकन गर्ने संविधानको धारा–२६५ मा व्यवस्था छ ।