नेपाली कांग्रेसको प्रमुख भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले आज राजीनामा दिने भएका छन्। कांग्रेसको जारी केन्द्रीय समिति बैठककाबीच पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिन लागेकाे अध्यक्ष महरले बताए।
स्पेसखबरसंग कुरा गर्दै नेता महरले भने,‘नेविसंघको म्याद थप गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीभित्र ग्रुपिजम बढेपछि अप्ठ्यारो महशुस भएर राजीनामा दिन लागेको हुँ।’ भातृ संगठनको म्याद थप्ने विषयमा पार्टीभित्र धेरैथरिका प्रतिक्रिया आउन थालेपछि अध्यक्ष पदमा बसिरहनुको अर्थ नरहेकाले राजीनामा दिन लागेको उनले बताए।
‘आफू महाधिवेशनबाट निर्वाचित भएर आएकाले महाधिवेशनबाटै नेतृत्व हस्तान्तरण गर्ने ठूलो आकंक्षा थियो,’ महरले भने,‘तर, म्याद थपेर महाधिवेशन गर्न दिने विषयमा पार्टीभित्रै थरिथरिका विचार आएपछि राजीनामा दिने निर्णयमा पुगेकाे हुँ।’ उनले नेविसंघको अध्यक्षबाट राजीनामा दिएपछि आफ्नो सम्पूर्ण समय पार्टीको काममा लगाउने बताए।
कृष्णप्रसाद सिटौला समूह महर नेतृत्वकै कार्यसमितिलाई केही महिना थप गरी १२ औं महाधिवेशन गर्न दिनुपर्ने पक्षमा थियो भने संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तर्दथ समितिमा जोड दिँदै आएका छन्।