‘जनयुद्ध’ होमिदा शेरबहादुर बोहोरा २७ वर्षका थिए। पढाई ५ कक्षा पास। युद्धमार्फत समाज परिवर्तनको सपना बाहेक अरु केही देखेनन्। त्यसैले पढाई, घरपरिवार सबै छाडेर ‘जनयुद्ध’ मा लागे।
पार्टीको पूर्णकालीन कार्यकर्ता बनेर ‘जनयुद्ध’ मा होमिएका बोहोरा भूमिगत रुपमा हतियार बनाउने प्राबिधिक टोलीको भेरी–कर्णाली इन्चार्ज थिए। २०५४ सालमा प्राबिधिक टोलीमा भर्ती भएका उनले हतियार बनाउने सम्बन्धी धेरै तालिममा सहभागी भए। पहिलो पटक रुकुममा तालिम पाएका उनले त्यसपछि रोल्पा, दैलेख, सुर्खेत र मुुगुमा थप तालिम लिए।
पहिलो तालिम नै फलाम पिट्नबाट शुरु भएको उनी सम्झन्छन्। त्यसक्रममा हतियारमा पाइन हाल्न, रसायन भर्न, धार लगाउन, नट निकाल्न, फलामको बुलेट बनाउने सम्बन्धी थप सीप उनले त्यहीबेला सिकेका हुन्। ‘जनयुद्ध’ को मध्यकालतिरबाट त उनले तोप, ग्रिनेट, सकेट बमजस्ता हतियार बनाउन सिकिसकेका थिए। माओवादी सेनामा भर्ती भएर पढाई पूूरा नभएकोमा अहिले पनि बेलाबेलामा उनलाई पछुतो लाग्छ।
हतियार बनाउने क्रममा सुर्खेतका ज्योति, कालिकोटका ध्रुब र जाजरकोटका खड्का थरका अर्का साथीको बिष्फोटमा परी निधन भएको उनी झलझली अझै पनि आँखा अगाडि आइरहन्छ। ‘हामीले पनि हत्केलामा ज्यान राखेर पार्टीका लागि काम गरेका हौं,’ ‘जनयुद्ध’ का ती दिन सम्झदैं बोहोरा भन्छन्,‘हतियार बनाउने क्रममा कतिबेला मरिन्छ भन्ने पत्तो हुँदैनथ्यो।’
बन्द शिविरमा बसेर काम गरेका बेला लडाकुहरुलाई हौसला दिन पुुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु बेलाबेलामा आउने गरेको उनी सम्झन्छन्। बोहोरा भन्छन्,‘उहाँ (प्रचण्ड) हामीलाई सधैं भन्ने गर्नुहुन्थ्यो, यस्तो काममा ज्याँदा जोखिम हुन्छ। खानपिनमा ध्यान दिनूू।’
२०६२/०६३ को परिवर्तनसंगै माओवादी शान्ति प्रक्रियामा आएपछि सेना प्रमाणिकरणका बेला उनी सुर्खेतको दशरथपुर शिविरमा बसे। २०६३ सालमा सेना समायोजनपछि उनी क्याम्पमा गएका हुन्। बोहोरा भन्छन्,‘एसएलआरको चालक पूर्जा मैले नै बनाएको हुँ।’ पार्टीले अहिले कामको मूूल्यांकन गरेर टिकट दिएकोमा उनी खुसी छन्।
जुम्ला सदरमुुकाम खलंगादेखि २५ किमि टाढा तिला गाउँपालिकाको कार्यालयमा भेटिएका बोहोरा गत स्थानीय चुनावमा माओवादी केन्द्रका तर्फबाट सोही गाउँपालिकाको वडा नम्बर ९ बाट विजयी भएका थिए।
असल मान्छे मरिसके
उनी माओवादीका पूूर्णकालीन कार्यकर्ता थिए। त्यसैले पार्टीले खटाएको ठाउँमा गएर काम गर्नुपथ्र्यो उनीहरुले। पहिलो पटक तालिमका लागि दैलेख पठाएको थियो। जहाँ उनले गोल बनाउन सिके। युद्धका ती दिन सम्झदै बोहोरा भन्छन्,‘त्यतिबेला बाँचुला भन्ने लागेकै थिएन।’
उनका अनुसार युद्धका क्रममा कोही पछाडि फर्कन लाग्यो भने आफ्नै साथीले हानेर मारिदिन्थे ‘यस्तो काँतरबाट परिवर्तन सम्भब छैन’ भनेर। अर्थात् त्यतिबेला अनुशासनमा निक्कै कडाई थियो। उनको बुुझाइमा क्याम्पमा आएर बस्न थालेपछि अनुशासन फितलो हुँदै गएको हो। ‘जनयुद्ध’ को सपना पूरा नभएको उनको बुुझाइ छ। भन्छन्,‘सपना अधुरो भएको छ, पूूरा नगरी हुँदैन।’
बोहोराका अनुसार ‘जनयुद्ध’ मा समर्पित माओवादीभित्रका राम्रा मान्छे धेरै मरिसकेका छन्। धेरै जनताको बलिदानीपछि माओवादीले २०५२ सालमा शुरु गरेको ‘जनयुद्ध’ आजको उचाइमा पुुगेको उनको बुुझाइ छ। भन्छन्–यो अवस्थामा आइपुगेको जनताले धेरै दुःख कष्ट गरेका कारण हो।
तर, त्यत्रो संघर्ष गरेका नेताहरु पछिल्लो समय धेरै सुबिधाभोगी भए। उनी भन्छन्,‘नेताहरुको यस्तो पारा हिजोका दिनमा घर, परिवार सबै छाडेर जनयुुद्धमा होमिएका हामीजस्ता लडाकुुहरुलाई कत्ति पनि चित्त बुुझेको छैन।’ बोहोराको बुुझाइमा नेताहरुको सबैभन्दा ठूलो कमजोरी जनतासंग घुलमिल हुन नसक्नु हो। ‘जनताको आन्दोलनको बलमा आज यो अवस्थासम्म आइपुुग्ने अनि तिनैलाई भुुल्ने माओवादी नेताहरुको सबैभन्दा ठूलो कमजोरी हो,’उनी भन्छन्।
कुनै समय एक्लै बस्दा माओवादी आन्दोलन र त्यसको उपलब्धी के भयो त भनेर घोत्लिन्छन् उनी। घरि उनलाई लाग्छ, हो त माओवादीले गरेको आन्दोलन युुगले मागेको आन्दोलन हो। अनि चित्त बुुझाउँछन्, जे गरियो ठीकै गरियो। तर, कुनैबेला फेरि हिजोका ती दर्दनाक घटना सम्झन्छन्। र, भन्छन्–मान्छे मार्ने हतियार बनाएकोमा कुनैबेला चाँही मैले पाप गरें कि भन्ने लाग्छ।
(स्पेसखबरकाे आर्काइभबाट-गत साउन १९ गते प्रकाशित सामग्रीलाइ जनयुद्ध दिवसका अवसरमा पुन:प्रकाशन गरेका हाैं)