तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी मुख्यालय धुम्बाराहीमा पहिलो पटक जनयुद्ध दिवस मनाएको छ।
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा भएको कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित महासचिव विष्णु पौडेल, नेताहरु वामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, भीम रावल, अमृत बोहोरा, युवराज ज्ञवालीलगायत सहभागी थिए।
जनआन्दोलन र जनयुद्ध दिवस मनाउने निर्णय नेकपाको नभएर प्रचण्डको निजी निर्णय भएको बुधबार धनुषामा आयोजित कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले टिप्पणी गरेका छन् भने केन्द्रीय सदस्य सूूर्य थापाले छापामार शैलीको निर्णय भनेका छन्।
माओवादीको हिंसात्मक विद्रोहमा १७ हजार नागरिकको ज्यान गएको छ। हिंसात्मक विद्रोह गर्ने माओवादीले जुन निर्णय गरेको थियो, त्यसलाई आज आएर पहिलेको एमाले, मालेले पार्टी मुख्यालयबाट अनुमोदन गराएका छन्। माओवादीले भन्दै आएको तथाकिथत ‘जनयुद्ध’ लाई उनीहरुले आज आएर आत्मसात गरेका छन्, जनयुद्ध दिवस मनाएर।
हिजोका एमाले, मालेका नेताहरुलाई आफूले शुरु गरेको ‘जनयुद्ध’ लाई आत्मसात गर्ने अवस्थामा पुुर्याउन सक्नु भनेको राजनीतिक रुपमा प्रचण्डको ठूलो विजय हो। पार्टी एकीकरण भएपछि अध्यक्षकै हैसियतमा बसेर नेकपाभित्र प्रचण्ड हाबी भएको जनयुद्ध दिवस मनाउने निर्णयबाट पनि प्रष्ट हुन्छ। जसरी पहिला त्यतिबेलाका मालेहरु एकीककरणपछि तत्कालीन मनमोहन अधिकारीको पार्टीमा माक्र्सवादीमाथि हावी भएका थिए, अहिले प्रचण्ड त्यसैगरी हिजोका एमालेमाथि हावी भएको देखिन्छ।
हिजो झट्ट हेर्दा जनतालाई के लाग्थ्यो भने, माओवादीले एमालेमाथि पनि त आक्रमण गरेको छ नि। तर, त्यस्तो होइन रहेछ। आज आएर ती सबै भ्रम रहेछ भन्ने जनतालाई प्रष्ट भएको छ। जनता भन्न थालेका छन्, बरु छुपेरुस्तम रहेछन् त्यतिबेलाका माले, एमालेहरु। माओवादीहरु त यसै पनि भूमिगत थिए नै। जंगलमा बसेमा माओवादीको विरोध गरेको जस्तो गर्ने, जनयुुद्धको विरोध गरेको जस्तो पनि गर्ने गर्थे एमाले, मालेका नेताहरु।
हुन त त्यतिबेला पनि कतिपयले भन्ने गर्थे, दिउँसो दिउँसो एमाले, रातिराति माओवादी। आज आएर ती भनाई सत्य सावित भएका छन्। अर्थात माओवादीको हिंसात्मक विद्रोहप्रति एमाले, मालेको भित्रभित्रै समर्थन रहेछ, जनयुद्धप्रति सहानुुभूति रहेछ भन्ने आज आएर जनतामाझ प्रष्ट भएको छ।
शक्ति आर्जन गर्नका लागि चुनावअघि पार्टी एकीकरण गरी नेकपाको ब्यानरमा चुनावमा उठेर हिजोका एमाले र माओवादीले प्रचण्ड बहुमत पनि पाए। दुुई पार्टी एकीकरण गर्दैमा हिजोका दिनमा माओवादीले गरेका सबै कुराहरु बोक्नुपर्ने बाध्यता एमाले नेताहरुमा पक्कै थिएन। आज आएर ती कुराहरु बोक्नै पर्ने बाध्यता भएको हो यदि हिजोका एमाले, मालेका नेताहरुमा भने लमजुङको पाणिनी संस्कृत विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ अधिकारीको हत्याको जिम्मेवारी पनि त बोक्नुपर्दछ। शिक्षक अधिकारीको हत्या हामीले होइन, माओवादीले गरेको हो भनेर एमाले, मालेका नेताहरु उम्कन पाउँदैनन्।
यतिमात्र होइन, आफ्नै नेता यदु गौतमको हत्याको जिम्मेवारी पनि बोक्नु परेन? २० वर्षअघि एमाले रुकुमका तत्कालीन सचिव एवं प्रतिनिधिसभाका उम्मेदवार गौतमको माओवादीहरुले घाँटी रेटेर हत्या गरेका थिए। एमालेका यदुजस्ता २०० जना नेता तथा कार्यकर्ता माओवादीबाट मारिएका छन्। अब ती सबैको जिम्मेवारी हिजोका एमाले, मालेले लिने कि? जिम्मेवारी नलिने हो केन्द्रीय सदस्य सूूर्य थापाले भनेजस्तो किन छापामार शैलीमा पार्टी मुख्यालयमा जनयुद्ध दिवस मनाइयो त?