पछिल्लो समय सल्यानमा सम्बन्धबिच्छेदका घटना बढेको पाइएको छ । जिल्ला अदालतका अनुसार एक वर्षका अवधिमा एक सय भन्दा बढी सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएका छन् ।
चालू आवमा सम्बन्धबिच्छेदका १०१ र अंशसहित सम्बन्धबिच्छेदका ३२ गरी १३३ मुद्दा परेको जिल्ला न्यायाधीश मदनबहादुर धामीले जानकारी दिए ।
धामीका अनुसार १४ देखि १९ वर्ष उमेर समूहका किशोरीले सबैभन्दा बढी सम्बन्धबिच्छेदको निवेदन दिने गरेका छन् ।
‘सम्बन्धबिच्छेद गर्न आउने धेरैलाई परामर्श गरेका छौँ तर उनीहरु सहमतिमै सम्बन्धबिच्छेद गर्न आउने भएकाले हाम्रो कुरा सुन्न चाहनन्न्’ धामीले भने ।
सम्बन्धबिच्ेछद गर्न आउने ५० प्रतिशतभन्दा बढीका सन्तान हुने र तिनीहरुको भविष्य अन्योलमा हुने गरेको पनि धामीले बताए ।
परिपक्व नहुँदै प्रेम विवाह गर्ने र उमेर पुगेपछि सम्बन्धबिच्छेद गर्ने समस्या हुने गरेको धामीको भनाइ छ । वैदेशिक रोजगारीका कारण पनि सम्बन्धबिच्छेद हुने गरेको अदालतका स्रेष्तेदार गणेशकुमार गौतमले जानकारी दिए ।
चालु आवमा जबर्जस्ती करणीका १० मुद्दा तथा जबर्जस्ती करणी उद्योगअन्तर्गत आठ मुद्दा दर्ता भएको गौतमले बताए ।