बाघको आक्रमणबाट मृत्यु भएका मनहरी गाउँपालिका ७ की सरस्वती बर्ताैलाको परिवारलाई पाँच महिनापछि राहत रकम उपलब्ध गराइएको छ ।
पर्सा राष्ट्रिय निकुन्जले राहतस्वरुप १० लाख रुपियाँको चेक मंगलबार मृतकका श्रीमान उत्तम बर्ताैलालाई हस्तान्तरण गरेको हो ।
२०७४ साल चैत १२ गते बिहान मनहरीको ड्याम छेउमा घाँस काट्न गएका बेला पाटेबाघको आक्रमणमा परी सरस्वती बर्ताैलाको घटनास्थलमै ज्यान गएको थियो । उनलाई आक्रमण गर्ने बाघलाई चैत्र १३ गते साँझ समातेर चितवन राष्ट्रिय निकुन्ज लगिएकामा हाल चिडियाखानामा पठाइएको बताइएको छ ।
निकुन्जले मृतक परिवारलाई १० लाख दिएसँगै बाघको आक्रमणबाट घाइते भएका मनहरी गाउँपालिका ७ का लालबहादुर अर्याललाई ६२ हजार र मनहरी गाउँपालिका ५ डिल्लीपुरका रेशम भुजेललाई १८ हजार रुपियाँको चेक हस्तान्तरण गरिएको मनहरी उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर तितुङले बताए । भुजेल गोहीको आक्रमणमा परी घाइते भएका व्यक्ति हुन् ।
चेक हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै पर्सा राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले मानिस र जनावरबीचको द्वन्द्वलाई घटाएर लैजानका लागि सरकारी निकायहरुले समुदायसँग साझेदारी गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले द्वन्द्वले कुनै न कुनै पक्षलाई क्षति पुग्ने बताउँदै दुबैतर्फ कम क्षति हुने गरी काम गर्नुपर्ने आबश्यकता रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले संरक्षणको काममा स्थानीय सरकार, समुदाय र सरोकारवालाहरु एक भएर लाग्नुपर्ने बताए । वन्यजन्तुका कारण मान्छेको मृत्यु हुनु दुःखद् रहेको भन्दै उप्रेतीले जनावरकै कारण मान्छेको अस्तित्व पनि रहेको बताए ।
मध्यवर्ती उपभोक्ता समिति मनहरीका अध्यक्ष पदमबहादुर तितुङको सभाध्यक्षतामा भएको कार्यक्रममा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र हेटौँडाका बिजयराज सिग्देल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।