फोहोर व्यवस्थापन गर्न जनकपुर उपमहानगरपालिका–१८ भोइलमा निर्माण गर्न सम्झौता भएको ल्याण्डफिल साईट अन्यत्र सार्न स्थानीयहरुले माग गरेका छन् । हाल सम्झौता भएको स्थानमा वातावरण विद एवं विज्ञहरुबाट अनुसन्धान एंव अन्वेषण नभएकाले साईट निर्माण गर्नु कुनै किसीमले उपयुक्त नरहेको ठहर गर्दै स्थानीयहरु साईट निर्माण अन्यत्र नसारिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।
खेती योग्य उर्वरा भूमिमा ल्याण्डफिल साईट निर्माण हुँदा चौतर्फी वस्तीमा वातावरणीय प्रदुषण तथा रसायनिक ग्यासको प्रकोपले मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै स्थानीयहरुले विरोध जनाएका छन् । भोइलमा उक्त साइट निर्माण हुँदा जग्गा अधिग्रहणले धेरै नागरिकहरु सुकुम्बासीमा परिणत हुने र क्षेत्रीय टर्मिनललाई प्रत्यक्ष प्रभाव पारी हवाई सेवा नै प्रभावित हुने भन्दै उनीहरु आइतवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालय, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा जनकपुर उपमहानगर कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । फोहोर व्यवस्थापनकालागि बस्तीबाट टाढा बञ्जर भूमीमा ल्याण्डफिल साईमट निर्माण हुनुनर्पे उनीहको धारणा छ ।
ल्याण्डफिल साईट अन्यत्र सार्नुपर्ने भन्दै विगतमा पनि स्थानीयहरुले लिखित तथा मौखिक रुपमा विरोध जनाएका थिए । यता, जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता झा भोइलमा ल्याण्डफिल साईट निर्माण भएपछि स्थानीयहरुलाई रोजगारीको अवसर प्राप्त हुने बताउँदै यसको विरोध गर्नु गलत रहेको प्रतिक्रिया दिएकी छन् ।
स्पेस खबरसँग कुराकानी गर्दै उपमेयर झाले भनिन् ‘भोइलमा ल्याण्डफिल साईट निर्माण गर्ने कुरा विगत ५ वर्षदेखि चल्दै आएको थियो । अब सम्झौता भइसकेपछि मुआब्जा लिन सार्वजनिक सूचना जारी गरेपछि अब विरोध गर्नु कुनै औचित्य नै छैन ।’ बस्तीबाट ल्याण्डफिल साईट निर्माण हुने स्थान टाढा रहेको दावी गर्दै उनले ल्याण्डफिल साईटमा सिर्जना हुने रोजगारीको अवसर पहिले भोइलवासीलाई नै दिने प्रतिबद्धता समेत गरिसकेको बताइन् ।
यता फोहोर व्यवस्थापन गर्न चुनौतीको सामना गरिरहेको जनकपुरमा ल्यान्डफिल साइट नबन्ने लगभग निश्चित नै छ । एडीबीले एकिकृत शहरी विकास आयोजना अन्तर्गत सडक, ढल र ल्यान्डफिल निर्माणको लागि उपमहानगरपालिकासँग गरेको सम्झौता आगामी डिसेम्बर ५ तारिखमा सकिंदैछ ।
आयोजना सकिन तीन महिनाभन्दा पनि कम समय रहेको अवस्थामा उपमहानगरपालिकाले ल्यान्डफिल निर्माण कार्य शुरुसमेत गर्न सकेको छैन्। ल्यान्डफिल साइट निर्माण गर्न नसकेपछि यसकालागि छुट्टियाइएको ४८ करोड रुपैंया फिर्ता जाने निश्चित भएको छ । ल्यान्डफिलका लागि गुठी संस्थानले जनकपुर–१८ भोइलमा १२ बिघा १० कठ्ठा १६ धुर जग्गा उपलब्ध गराएको छ । ल्यान्डफिल निर्माणगर्न उपमहानगरपालिकाले २० फागुन २०७३ मा सम्झौता गरेको थियो । तर, सम्झौता भएको ढेढ वर्ष बितिसक्दा पनि उपमहानगरपालिकाले निर्माण कार्य अगाडी बढाउन सकेको छैन् ।
उपमहानगरपालिकाले ल्यान्डफिल निर्माणतर्फ चासो नदिँदा जनकपुर पुगेको एक टोलीले रकम फिर्ता लिने चेतावनी दिएको बुझिएको छ । एडीबी टोलीका सदस्यहरुले समयमा निर्माण कार्य पुरा हुनसक्ने संभावना नरहेको भन्दै सम्झौता रद्द गरी रकम फिर्ता लाने निर्णय गर्ने मनसायमा देखिएका थिए। तर, ५ डिसेम्बरमा आयोजनाको समायावधि आफै सकिने भएकोले सम्झौता रद्द नगर्न उपमहानगरपालिकाले आग्रह गरेपछि उनीहरु रुकेको एक कर्मचारीले बताएका छन् ।
एडीबीले आयोजना सम्झौता गर्न सबैभन्दा महत्पवपूर्ण विषय ल्यान्डफिल साइटलाई बनाएको थियो ।
आयोजनाको समयावधि सकिन केहिदिनमात्र बाँकी रहेको अवस्थामा उपमहानगरपालिकाले मुआब्जा लिन करिब १३ दिन अगाडी सार्वजनिक सूचना जारी गरेको छ । तर, अहिलेसम्म मुआब्जा लिन कोहि नआएको उपमेयर झाले बताइन् ।