हिन्दूहरुको महत्वपूर्ण पर्व हरितालिका तीज चौंठचन्द्र आज मिथिला क्षेत्रमा उल्लासपूर्वक मनाइँदै छ। खासगरी मधेसी समुदायले मनाउने यो पर्वमा साँझको समयमा उदाउँदो चन्द्रमालाई पूजा अर्चना गरी मनाइने गरिन्छ।यो पर्वमा शुद्धताको विशेष महत्व हुने गर्दछ।
यसवर्ष तिथिको समयमा हेरफेर भएपछि हरितालिका तीज र चौंठचन्द्र पर्व एकै दिन मनाउन लागिएको हो।पतिको दीर्घायुका लागि महिला उपवासमा बसेर हरितालिका तीज पर्व मनाउँछन्। यसैगरी चौंठचन्द्र पर्वमा पूजामा सहभागी परिवारका एक सदस्य खासगरी महिला दिनभर उपवासमा बसेर साँझपख गौरीपुत्र गणेश र चन्द्रमालाई पूजा गरेर विधिवत रूपमा पर्व सम्पन्न गर्छन्।
खासगरी मैथिली समुदाय र थारू जातिमा मनाइने गरिएको यो पर्वको पूजा आँगनमै गरिन्छ।पूजा गर्नका लागि पूजास्थलमा अरुवा चामलको पीठोको कलात्मक अरिपन बनाइन्छ। सो अरिपनमाथि चन्द्रमाको आकृतिका साथै पूजा सामग्री राख्ने स्थल अङ्कित गरिएको हुन्छ।
पूजाको सामग्रीमा नयाँ माटोको भाँडोमा जमाइएका दही, मिठाइँ, नरिवल, केरा, पुरी लगायतका सामग्री राखेर पूजा गरिन्छ। चौंठचन्द्रको पूजामा मुख्य भूमिका निर्वाह गर्ने व्यक्ति उपवासमा बस्छन्। साँझपख स्नान गरी नयाँ बस्त्रधारण गरेर धार्मिक विधिपूर्वक पूजा सम्पन्न गर्छन्।
पूजा सम्पन्न भएपछि पूजाका सामग्री लिएर पालैपालो गरेर परिवारका सम्पूर्ण सदस्यले चन्द्रमा दर्शन परम्परा छ।चौंठचन्द्रको दिनमा स्वतः चन्द्रमाको दर्शन गरेमा मिथ्या कलंक नलाग्ने मिथिला संस्कृतिमा जनविश्वास छ।यसैबीच जनकपुरधाम उपमहानगरपालिकाले तीज र चौंठचन्द्र पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ।
उपमहानगरपालिका कार्यालयद्वारा मंगलबार जारी गरिएको सूचनामा उपमहानगरपालिका क्षेत्रभित्र बुधवार सार्वजनिक बिदा दिइएको उल्लेख छ।