नेपाल शिक्षक महासंघ मकवानपुरको आह्वानमा असोज ९ गते हुने भनिएको मकवानपुरका विद्यालय बन्द कार्यक्रम फिर्ता भएको छ।
महासंघले समस्या समाधानका लागि जिल्ला समन्वय समिति कार्यालयमा दिएको ज्ञापन बमोजिम आइतबार दिउँसो भएको सरोकारवालाबीचको छलफलबाट विद्यालय बन्दको कार्यक्रम फिर्ता गर्ने सहमति भएको हो। छलफलमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, महासंघका पदाधिकारीहरुसहित जिल्लास्थित शिक्षकहरुका संगठनका प्रतिनिधिहरु सहभागी थिए।
बैठकमा कैलाश गाउँपालिकामा भएको दरबन्दी मिलानको बास्तविकता र बैधानिकताबारे अध्ययन गर्न जिल्ला शिक्षा इकाई कार्यालयकातर्फबाट केशव सन्जेल, कैलाश गाउँपालिका सामाजिक विकास समितिका प्रमुख सुमन लटौला र शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जीधराज ढकाल सम्मिलित कार्यदल बनाउने सहमति भएको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले बताए।
कार्यदलले ७ दिनभित्र आवश्यक अध्ययन गरी पेस गरेको प्रतिवेदन बमोजिम आगामी दिनमा छलफल गरी समस्या समाधान गरिने उनले बताए। कैलाश गाउँपालिकाले नेपालको संविधानको धारा २२६, अनुसूची ८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम बनेको कैलाश गाउँपालिकाको गाउँ शिक्षा ऐन २०७५ को दफा ३३ बमोजिम दरबन्दी मिलान गरेको दाबी गरेको छ।
छलफलमा अध्यक्ष मुक्तानले आफूले शिक्षाको विकासको लागि प्राप्त बैधानिक अधिकार प्रयोग गरेको दाबी गरेका थिए भने समन्वय नगरेरै कैलाश गाउँपालिकाले चालेको कदमले राम्रो नतिजा नल्याउने भन्दै शिक्षक महासंघका प्रतिनिधिहरुले गाउँपालिकाको कदम फिर्ता लिन माग गरेका थिए। कार्यदल बनाउने कुरामा दुबै पक्षबीच सहमति जुटेपछि तत्कालका लागि विद्यालय बन्दलगायत आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि स्थिति सहज भएको छ।