पूर्वी लमजुङको दोर्दी कोरिडोरमा विद्युतीय प्रसारण लाइन (ट्रान्समिसनलाईन) निर्माण कार्य अघि बढ्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले लमजुुङ स्थित १३२ केभी दोर्दी कोरिडोर ट्रान्समिसन लाईन निर्माण सुरु गर्ने लागेको हो ।
नेपाल सरकारले समयमा ट्रान्समिसनलाईन निर्माणको कार्य शुरु नगर्दा दोर्दी करीडोमा निर्माणाधीन जलविद्युत आयोजनाहरु प्रबद्र्धकहरु चिन्तामा परेका थिए । अब मनसुन सकिए लगत्तै किर्तिपुर–उदीपुर सम्मको १३२ केभीए (१४ किमी) ट्रान्समिसनलाईन निर्माणको काम सुरु गर्न लागिएको हो ।
दोर्दी करिडोरमा जलबिद्युत आयोजनाहरु धमाधम निर्माण भईरहँदा पनि ट्रान्समिसन लाईन बन्छ या बन्दैन् भन्ने अझै टुंगो लागेको थिएन । ‘हामीले पटक–पटक आवाज उठायौँ, प्रधिकरणको टोलीले पनि निरिक्षण गर्र्यो, अप्पर दोर्दी जलबिद्युत आयोजना प्रमुख रविन्द्र हमालले भने, अब बल्ल हामी ढुक्क भयौँ ।
यतिवेला प्रसारण लाइन तथा सबस्टेसनको जग्गा अधिग्रहणको काम भइरहेको छ । वर्षा कम भएपछि आयोजना स्थलमा निर्माण सामाग्री पुुर्याएर संरचनाको काम सुरु गर्ने तयारी भइरहेको दोर्दी करिडोरमा विद्युतीय प्रसारण लाइन आयोजना प्रमुख रमेश पौडेलले बताए । उनले भने ‘ठेक्का सम्झौता भएको अवधिले १८ महिनामा लाइन तयार हुनुपर्छ, अब ११ महिना बाँकी छ, प्रसारण लाइन निर्माण गर्न जोशी एन्ड मुडबरी कम्पनीलाई नियुक्त गरिएको छ ।’
पौडेलका अनुसार प्राधिकरणले नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनीलाई उदिपुरमा सबस्टेसन निर्माणको जिम्मेवारी समेत तोकेको छ । ‘१४ किलोमिटर लामो प्रसारण लाइनका ३३ वटा टावर खडा हुन्छन्, उनले भने, उदिपुरमा सबस्टेसन निर्माण हुन्छ ।’
६० करोड रुपैयाँ लागत अनुमान गरिएको प्रसारण लाइन चालु आर्थिक बर्षभित्र पूरा गर्ने प्रधिकरणको लक्ष्य रहेको समेत पौडेलले जानकारी दिए । उनका अनुसार जग्गा अधिग्रहण तथा मुुआब्जा वितरणको काम अन्तिम चरणमा पुुगेकाले अबको ११ महिनामा लाइन तयार हुनेछ ।
प्रसारण लाइन तयार भइपछि दोर्दी कोरिडोरमा निर्माणाधीन २ सय मेगावाटका आयोजनाको विद्युत यो प्रसारण लाइन हुँदै २२० केभी मस्र्याङ्दी कोरिडोरमा गएर जोडिनेछ । दोर्दी कोरिडोरमा अहिले २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, ५४ मेगावाटको सुपर दोर्दी, २७ मेगावाटको दोर्दी खोला, १२ मेगावाटको दोर्दी–१ लगायत आयोजना निर्माणाधीन छन् । यी मध्ये ७५ प्रतिशत पूरा भएको माथिल्लो दोर्दी ‘ए’ र दोर्दी खोला आयोजनाको निर्माण अन्तिम चरणमा पुगेका छन् ।