गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच मितेरी सम्बन्धी गाँस्ने सहमति भएको छ । चीन भ्रमण सकेर मंगलबार पोखरा आइपुगेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उक्त जानकारी गराए ।
असोज १ गते काठमाडौंबाट उडेका उनी चीन हाइनान प्रान्तको ५ दिने भ्रमण सकी सोमबार काठमाडौं आएका थिए । नोभेम्बरमा गण्डकी र हाइनानबीच मितेरी सम्बन्धी गाँस्ने सहमति भएको जानकारी दिए । गण्डकीको राजधानी पोखरा र हाइनानको राजधानी हाइकावोबीच भगिनी सम्बन्ध गाँस्ने सहमति भएको बताए ।
आफूले चीनसँग पैसा नमागेको भन्दै उनले नेपालमा हालै लागु भएको संघीयता र हाम्रो गण्डकी प्रदेशको अवस्थाबारे जानकारी गराएको बताए । अरुको आश गरेर भन्दा आफ्नो प्रदेशको विकास आफैले गर्नुपर्छ भन्ने सिकेर फर्केको उनको भनाइ थियो । चीनको हाइनानले मागेर नभई आफ्नै बलबुताले विकास गरेको उनले सुनाए । केन्द्रको सानो सहयोग तर प्रान्त आफैको अग्रसरतामा हाइनानले विकास गरेको आफूले बुझेर फर्केको उनले बताए ।
राजनीतिक स्थिरता र केन्द्रसँगको समेत मिलेमतोमा हाइनानले विकास गरेको मुख्यमन्त्री गुरुङले सुनाए । गण्डकी प्रदेशमा प्राविधिक विश्वविद्यालय खोल्ने योजनामा चिनियाँ पक्षले प्राविधिक सहयोग गर्ने सहमति भएको मुख्यमन्त्रीले जानकारी दिए ।
नेपाली विद्यार्थीहरुलाई चीनमा छात्रवृत्ति दिनेबारे पनि सहमति भएको छ । चिनियाँहरु पर्यटन र ऊर्जामा लगानी गर्न इच्छुक देखिएको मुख्यमन्त्रीले उनको भनाइ थियो ।
चिनियाँहरुले सरकार—सरकार, व्यवसायी—व्यवसायी र जनता—जनताबीचको सम्बन्ध बनाउँदै जान चाहेको र त्यसअनुसार सम्बन्ध बन्दै जाने विश्वास उनले व्यक्त गरे ।
अर्गानिक खेती, औषधी व्यवसाय र उद्योग कलकारखानामा पनि चिनियाँ रुचि देखिएको उनको भनाइ थियो । भ्रमण टोलीमा गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष गिरधारी पौडेल, मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे लगायत सहभागी थिए ।