महोत्तरीको औरही नगरपालिका १ की ८ महिने बालिका सोनोली चौधरीकी हत्याका अभियुक्त पक्राउ परेका छन् ।
सोनालीलाई बालत्कारपछि हत्या भएको झण्डै २ महिना पश्चात शनिवार दिउँसो उनको हत्याका अभियुक्त पक्राउ परेको हो । पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वाका २५ वर्षीय भरत साह रहेका छन् ।
सोनालीलाई बलात्कारपछि हत्या गरेर फरार रहेका उनलाई सुनसरीको ईनरवा स्थित भण्टाबारीबाट प्रहरीले पक्राउ गरेको होे । महोत्तरीको भंगहा प्रहरीचोकीमा केहि महिना अघि ईन्चर्जको रुपमा कार्यरत्त रहेका प्रहरी सहायक निरीक्षक अवधलाल साह हाल भण्टावारी स्थित प्रहरीचोकीमा कार्यरत रहेको र उनकै टोलीले हत्यारा भरतलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।
१० भदौमा औरही बजारमा सन्ताेष चौधरीले संचालन गरेका सिद्धान्त फैन्सी स्टोर्सबाट भरतले खेलाउन भन्दै बच्चा लिएका थिए । पसलमा सन्तोषकी श्रीमती इन्द्रेस थिइन् । जनै पूर्णिमाको दिन भरत शाह टोपी किन्ने बाहानामा पसलमा आएका थिए ।
उनले टोपीको मूल्य सोधे, बार्गेनिङ गरे तर दाम नमिलेपछि भरतले सन्तोष आफ्नै चिनजानको मान्छे रहेको र ऊ भएको भए कम मूल्यमा दिन्थ्यो भनी नजिककाे मान्छे हुँ भन्ने विश्वास दिलाए । फैन्सी स्टोर्समा समान बेच्दै बच्चा खेलाउँदै गरेकी आमा ईन्देशसँग एकछिन बच्चा खेलाउछु भन्दै उनले काखमा लिए । पसलमा ग्राहकको भीड लागेपछि आमा ईन्द्रेस चौधरी ग्राहकलाई सामान बेच्नमा व्यस्त भइन् । र, भरत सोनालीलाई लिएर फरार भएका थिए ।
सोनालीलाई लिएर फरार भएको भिडियो फुटेज व्यवसायी चौधरीको पसलमा जडान भएको सीसीटीभी क्यामेरामा कैद भएको थियो । त्यही फुटेजबाट भरतको पहिचान भएको थियो । तर घटना पश्चात हत्यारा साह लुक्दे बस्दै आएका थिए । अपहरण भएको भोलीपल्ट ११ भदौमा सोनालीको शव गाउँभन्दा पूर्व एक खेतमा स्थानीयबासीले फेला पारेका थिए ।