बेच्न लगिएको अवस्थामा भारतको उत्तर प्रदेशबाट ३७ र नयाँ दिल्लीको कोठीबाट ३ गरी ४० जना नेपाली चेलीको उद्दार गरिएको छ ।
३७ चेलीलाई गाजियावादको इन्द्रपुरमस्थित एक होटलको तीनवटा फ्लाटमा थुनेर राखिएको अवस्थामा उद्दार गरिएको थियो । अन्य तीनजना चेलीलाई नयाँ दिल्लीको एउटा कोठीबाट निकालेर उद्दारकर्मीले नेपाल ल्याएका छन् । दिल्ली र युपीबाट उद्दार गरिएका सबै चेलीलाई माइती इन्डियाको टोलीले नेपालगञ्जस्थित माइती नेपाललाई जिम्मा लगाएको छ ।
माइती इन्डियाका संयोजक बालकृष्ण पाण्डेका अनुसार ३७ जनालाई नेपालस्थित भारतीय दुतावासको समन्वयमा उत्तर प्रदेश प्रहरीको सहयोग लिएर उद्दार गरिएको हो ।
उद्दार गरिएका ३७ चेली सिन्धुपाल्चोक, कञ्चनपुर, बाँके, रुकुम, उदयुर, काठमाडौं, दाङ, इलाम, तेह्रथुम, उदयपुर, कपिलवस्तु, दैलेख, मोरङ लगायकाका जिल्लाका रहेको माइती नेपालले जानाएको छ ।
उद्दार गरिएका घर जान चाहने चेलीलाई घर पठाउने र जान नचाहने चेलीलाई सिपमुलक तालिम दिने सेन्टरमा राखिने माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले बताए ।
उनका अनुसार नेपाली चेली भारतको कोठीमा सप्लाइ गर्ने काममा ३ भारतीय र २ नेपाली गरी ५ जनाको गिरोह सक्रिय छ । नाइकेसहित गिरोहका तीन सदस्य भारतीय प्रहरीको फन्दामा परिसकेको छन् । गिरोहका दुई नेपाली सदस्य फरार छन् । उनीहरुमध्ये एकजना काठमाडौंमा र अर्का दुबइमा रहेको बताइएको छ ।