बेलायती समाचार संस्था बीबीसीले झुटा समाचारविरुद्ध आजदेखि विश्वव्यापी रुपमा अभियान सुरु गरेको छ। विश्वभर सामाजिक तथा राजनीतिक रुपमा हानी पुर्याइरहेको र कहिलेकाहीँ हिंसा र मृत्युसमेत निम्त्याइरहेको भन्दै बीबीसीले ‘बियोन्ड फेक न्युज प्रोजेक्ट’ सुरु गरेको हो। यसको उद्देश्य विश्वभर मिडिया साक्षरता बढाउनु रहेको बताइएको छ।
यसैअभियानअन्तर्गत बीबीसीले आज भारतका दिल्ली, लखनउलगायत ६ प्रमुख शहरमा विशेष कार्यक्रम आयोजना गरिरहेको छ। कार्यक्रममा सरकारी अधिकारी, नेता, प्रहरी, आमसञ्चार माध्यम, साइबर जानकार र गलत समाचारका पीडितलगायतको सहभागिता रहने जनाइएको छ।
यसैअवसरमा बीबीसीले भारत, केन्या र नाइजेरियामा गरेको एक अनुसन्धानको निष्कर्ष पनि सोमबार नै सार्वजनिक गरिएको छ। यसअनुसार भारतमा राष्ट्रवादको बढ्दो लहरले झुटा समाचार फैलाउन हौस्याउने भूमिका निर्वाह गरिरहेको देखिएको छ। राष्ट्रिय पहिचानलाई बढावा दिन कतिपय मानिसका लागि तथ्यभन्दा भावनात्मक कुरा बढी महत्वपूर्ण हुने गरेको उक्त अनुसन्धानले देखाएको छ। सामाजिक सन्जालका विज्ञका अनुसार दक्षिणपन्थीहरुको सन्जाल वामपन्थीहरुको भन्दा अझ बढी संगठित देखिन्छ र त्यसले राष्ट्रवादसँग जोडिएका झुट्टा समाचारलाई अघि बढाउन सघाएको छ।
भारतको लखनउमा आयोजित कार्यक्रममा उत्तरप्रदेशका उपमुख्यमन्त्री दिनेश शर्माले समाचार ब्रेक गर्ने प्रतिस्पर्धाका कारण च्यानलहरुको विश्वसनीयता घटेको बताए। उनले झुटा समाचारलाई चुनौति दिन कानुन बनाउने विकल्प सरकारसँग भएपनि प्रेस स्वतन्त्रतालाई सीमित गर्ने आरोप लाग्ने बताए। पूर्व मुख्यमन्त्री अखिलेश यादवले झुटा समाचारलाई बढावा दिने मानिस देशद्रोही भएको बताए।
‘झुटा समाचार एक भाइरससरह हो, जसबाट पूरै देश पीडित हुन्छ, मानिसको ज्यानै पनि जान सक्छ ।’ उनले हिटलर र मुसोलिनीको युगमा जस्तै झुटा प्रचार हुने गरेको पनि उल्लेख गरे। अभियानअन्तर्गत झुटा समाचार पहिचानका लागि तालिम दिइनुका साथै यसको सामना गर्नका लागि प्राविधिक सामग्रीका विषयमा पनि छलफल गरिने जनाइएको छ।
झुटा समाचारको कसरी सामना गर्ने ? हेर्नुस् बीबीसी हिन्दीको यो सूचनामुलक भिडियो
बीबीसीको यो अर्को सामग्री