निजी क्षेत्रबाट निर्माण भएको पहिलो चलचित्र माइतीघरका छायाकार गेहेन्द्रप्रसाद धिमालको ७२ वर्षको उमेरमा निधन भयो ।
हृदयाघातका कारण छायाकार धिमालको निवास काठमाडौँ महानगरपालिका–४ महाँकालमा असामयिक निधन भएको हो ।
उनले नेपाली र अन्य भाषाका गरी दर्जनौँ चलचित्र निर्माण गरिसकेका छन् । विसं २००३ मा काठमाडौँको आलापोटमा जन्मिएका धिमाल निधनअघिसम्म पनि नेपाली चलचित्र क्षेत्रको उन्ननयनमा चिन्तन गरिरहन्थे ।
कात्तिक १६ गते शुक्रबार उनले राजधानीको उत्तरपूर्वी भेगका रमणीय स्थललाई समेटेर चलचित्र छायाङ्कान स्थल बनाउने विषयमा छलफल कार्यक्रम आयोजना गरेका थिए।
गोकर्णेश्वर महादेव मन्दिर, राष्ट्रिय शहीद स्मारक, तारेभीर, श्वेतवाराही, सुन्दरीजल, सुन्दरीमाई, शिवपुरी, कागेश्वरी धाम, लोकतान्त्रिक शहीद उद्यान गागलफेदी, चिसापानी, गोल्सेभञ्ज्याङ, चौकीभञ्ज्याङ, जहरसिंहपौवा, नगरकोट, चाँगुनारायणलगायत क्षेत्रलाई समेटेर चलचित्र छायाङ्कन स्थल बनाउने निर्माता धिमालको सपना थियो ।