प्रजातन्त्रिक आन्दोलनका योद्धा एवं स्वतन्त्रता सेनानी सोनेलाल पासवानको निधन भएको छ । सोमवार विहान तीनबजे धनुषाको नगराइन नगरपालिका–९ घोडघासस्थित आफ्नै निवासमा १०६ वर्षको उमेरमा उनको निधन भएको हो ।
पासवानको पार्थिव शरीरमा काँग्रेस उपसभापति विमलेन्द्र निधि, आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादव, प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, नेपाल दलित संघका कार्यवाहक सभापति शम्भु हजारा पासवानलगायतका नेताहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उपसभापति निधिले श्रद्धाञ्जली पश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाल तथा नेपाली काँग्रेसले ठूलो योद्धा गुमाएको बताए । उनले पासवान लोभ र व्यक्तिगत स्वार्थबिना सदैव प्रजातन्त्र र लोकतन्त्रका लागि संघर्ष गर्ने निडर नेता रहेको बताए । पासवान महेन्द्रनारायण निधिसङ्गै पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनको क्रममा जेल समेत बसेका थिए ।
काङग्रेस नेता महेन्द्र नारायण निधिसँगै उनी जलेश्वर र सिन्धुली कारागारमा लामो समय जेल बसेको कांग्रेस नेता आनन्द ढुंगानाले बताए । जेल परे पनि प्रजातन्त्र प्राप्तिको संघर्ष अगाडि बढाउन थोरै पनि विचलित नभएको कांग्रेस उपसभापति निधिको भनाई थियो । सोनेलालका परिवारिक सदस्यहरुका अनुसार कांग्रेस उपसभापति निधि उनलाई पितासरह व्यवहार गर्दथे ।