घुससहित पक्राउ परेका उच्च सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता भएको छ।
असोज २४ गते ५ लाख घुससहित पक्राउ परेका थापा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुद्दा दर्ता गरेको हो। आयोगले बिगोबमोजिमको जरिवाना र कैद सजायको माग दाबी गर्दै अदालतमा मुद्दा दर्ता गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
कपिलवस्तुका रामकुमार टन्डनसँग घुस लिँदै गर्दा उच्च सरकारी वकिलको कार्यालय पोखराबाटै सहन्यायाधिवक्तालाई आयोग पोखराको टोलीले नियन्त्रणमा लिएको थियो। रामकुमारका छोरा अनुपमको वैदेशिक रोजगारी सम्बन्धी ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने सर्तमा थापाले घुस लिएको आरोप अख्तियारको छ।
टन्डनका छोरा अनुपमलाई ठगी मुद्दामा पक्राउ परी अदालतले दोषी ठहर गरिसकेको थियो। ठगी मुद्दामा जिल्ला अदालत कास्की र तत्कालीन पुनरावेदन अदालत पोखराबाट दोषी ठहर भई अनुपमले २ वर्ष कैद भुक्तान गरी ६ लाख रुपैयाँ जरिवानासमेत बुझाइसकेका थिए।
फेरि अनुपमको मुद्दा सर्वोच्चमा नपु¥याइदिने भन्दै रामकुमारसँग सहन्यायाधिवक्ता थापाले ५ लाख रुपैयाँ घुस मागेका थिए। अनुपमसँगै अर्का एकजना विदेशी नागरिकलाई समेत वैदेशिक रोजगार सम्बन्धी ठगी मुद्दा परेको थियो।
असोज २४ गते बिहान कार्यालय समय अघि नै सहन्यायाधिवक्ता थापा कार्यालय पुगेका थिए। बिहान पौने ९ बजे उच्च सरकारी वकिलको कार्यालयबाटै पैसा लिँदै गर्दा उनलाई आयोग टोलीले नियन्त्रणमा लिएको थियो।