प्रदेश २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विरोधका बीच करार कर्मचारी भर्नासम्बन्धी विधेयक पारित भएको छ।
सोमबार बसेको प्रदेशसभा बैठकले सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्नासम्बन्धी विधेयक बहुमतले पारित गरेकाे हाे। विधेयक पारित भएसँगै प्रदेश सरकारलाई करारमा कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ।
विधेयकप्रति नेकपाले विरोध जनाएको थियो भने कांग्रेसले मौन समर्थन गरेको थियो। आइतबारको बैठकमा विधेयकको केही बुँदाप्रति नेकपाले विरोध गरेपछि सभामुख सरोज यादवले कार्यसूचीबाट हटाएका थिए।
कर्मचारी सिफारिस समितिको अध्यक्षमा मुख्यन्यायाधीवक्ता रहने बुँदाप्रति नेकपाले विरोध गर्दै आएको थियो। मुख्यन्यायाधीवक्ता राजनीतिक पद रहेकाले उनलाई कर्मचारी सिफारिस समितिको अध्यक्ष बनाइएकाले नेकपाले विरोध गर्दै आएकाे थियाे।
तर, सोमबार बसेको बैठकमा नेकपाकाले विधेयकको विरोध गरेपनि विधेयक पारित भएको छ।