पठनपाठनको माग गर्दै जनकपुरधाम स्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा विद्यार्थीहरु बिहिवार चौथो दिन पनि धर्नामा बसेका छन् । कुनैबेला मुलुकमै नाम चलेको राराव क्यामपसमा अध्ययन गर्न नपाएको भन्दै क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गर्दै विद्यार्थीहरु धर्नामा बसेका हुन् ।
क्याम्पस पढ्न आएपनि शिक्षक नआउँदा आफुहरु त्यसै फर्किने गरेको राष्ट्रिय विद्यार्थी संघ राराव इकाई कमिटी अध्यक्ष दिनेश यादवले जनाए । ‘क्याम्पसमा हप्तामा एक दुइ दिन मात्र पढाइ हुन्छ, शिक्षकहरु किन नआएको सोध्दा पैसा नदिएकाले पढाउन नआएको भन्छन् । उनले भने, ‘कक्षाकोठामा डेस्क बेन्चदेखि मार्कर समेत छैन् । कम्पयुटर विज्ञान प्रयोगशाला पनि छैन् ।’
पठनपाठन नहुँदा क्याम्पसबाट त्यतीकै फर्कनुपर्ने बाध्यता रहेको र आफूहरूको भविष्य अन्धकारतर्फ धकेलिँदै गएपछि प्रशासनको ध्यानाकर्षणका लागि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेपनि कुनै सुनुवाई हुन नसकेको विद्यार्थी रोशन मिश्र बताउँछन्। दसैँ, तिहार र छठ बिदापछि क्याम्पस सञ्चालन भए पनि क्याम्पसमा प्राध्यापक नआउने, विद्यार्थी आएर त्यत्तिकै फर्कनुपर्ने बाध्यताका बीच आजित भएर क्याम्पसको कार्यकक्षमा तालाबन्दी गर्नुपरेको मिश्रले गुनासो पोखे ।
उनीहरूले पठनपाठन नभएको क्याम्पसमा शौचालयको उचित व्यवस्था नभएको, खानेपानी, कक्षाकोठा व्यवस्थित नभएको, कक्षाकोठामा ह्वाइट बोर्ड, मार्करहरूको व्यवस्था नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन्। आफूहरूले क्याम्पसमा नियमित पठनपाठन गर्न पाउनुपर्ने नभए लिएको पैसा क्याम्पसले फिर्ताको माग गर्दै उनीहरूले तालाबन्दी गरेको क्याम्पसकै अर्को विद्यार्थी नरेश ठाकुर बताउँछन् । उनी भन्छन्, ‘कि त आफूहरूलाई अन्यन्त्रै पढ्न पाउनुपर्ने व्यवस्था गरिदिनुपर्ने हैन भने, नियमित कक्षा सञ्चालन गरिदिनुपर्यो ।’
यता क्यामपसका सहायक प्रमुख रामनरेश ठाकुरले भने सम्बन्धित विषयका शिक्षक नभएकाले कक्षा सञ्चालन गर्न कठिनाई भएको बताउँछन्। नियमित क्याम्पस खुलेको भए पनि पठनपाठन नहुँदासम्म पनि क्याम्पस प्रमुख विजय लाल कायस्थ कानमा तेल हालेर मौन बसेको आरोप छ । क्याम्पसमा पठन–पाठन नियमित गर्न क्याम्पस प्रशासनले कुनै पहल नगरेको विद्यार्थीको आरोप छ ।गत सोमबार विद्यार्थीले क्याम्पस प्रमुख रामनरेश ठाकुरलाई समेत कार्यकक्षमै थुनेका थिए ।