कपिलबस्तुमा ८ हजार भन्दा बढी सवारी साधन ट्राफिकको कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक कार्यालयले चालु आवको पहिलो चौमासिकमा ट्राफिक नियम उल्लङ्घन गर्ने सो सवारी साधनलाई कारवाही गरेको हो ।
ट्राफिक कारवाहीमा परेका ८ हजार १ सय ५० सवारीबाट चार महीनामा टफिक प्रहरीले रु ४४ लाख ४२ हजार ५ सय राजश्व सङ्कलन गरेको छ । ट्राफिक नियम विपरीत सञ्चालन भएका सवारीलाई कारवाही गरिएको जिल्ला टफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक बाबुराजा पन्तले जानकारी दिए ।
“नियम विपरीत सञ्चालन गरी ट्राफिक कारवाहीमा पर्ने सवारीमा सबैभन्दा बढी मादकपदार्थ सेवनका छन्” प्रहरी निरीक्षक पन्तले भने, “ साउनमा १ हजार ८ सय ६६, भदौमा २ हजार ३ सय ३०, असोजमा २ हजार ३ सय ९८ र कात्तिकमा १ हजार ५ सय ५६ सवारी कारवाहीमा परेका थिए ।” उनका अनुसार ट्राफिक कारवाही प्रक्रिया बढे पनि ट्राफिक नियम विपरीत सञ्चालन हुने सवारी सङ्ख्या घटेको छैन ।