सुर्खेतका तीर्थराज कोइरालाले हुलाकको डाँक बोक्न लागेको २४ बर्ष भयो । उनी अझैपनि डाँक बोक्छन् । सुरुमा उनको तलव मासिक पाँच सय थियो । अहिले उनको तलव मासिक ६ हजार अर्थात दैनिक २ सय छ ।
डाँक बोक्नका लागि अतिरिक्त हुलाक कार्यालय हप्ताको तीन दिन खोल्नुपर्ने र त्यो पनि दुई घन्टामात्र खोल्नुपर्ने प्रावधान छ । तर डाँक बाँधेर सम्बन्धित ठाउँमा पुर्याउन दुई घन्टा होइन दिनभर लाग्छ । तसर्थ उनको काम दैनिक नै छ । दैनिक २ सय रुपैयाँको तलवले अहिलेसम्म कोइरालाले हुलाक डाँक बोक्ने सेवा गर्दै आएका छन् ।
दैलेखका वीरबहादुर रावतले पनि डाँक बोक्न लागेको २०५५ सालदेखि हो । डाँक बोकेवापत उनले अहिले पाउने तलव चार हजार १ सय रुपैयाँ हो । हुलाकको कर्मचारी भनिएपनि उनलाई ऐन अनुसार कर्मचारी मानिएको छैन । श्रेणीविहीन भन्ने गरिएको छ । खान पुग्ने गरी तलव नपाएको अवस्था एकातिर छभने अर्कोतिर डाँकवाहकलाई प्रदान गरिने एउटा छाता र झोलासमेत उनले पाएका छैनन् । बर्षको एकपटक एउटा छाता र झोला दिने गरिन्छ ।
सुर्खेतका कोइराला र दैलेखका नेपाली जस्ता अतिरिक्त हुलाक कार्यालयमा कार्यरत श्रेणीविहीन कर्मचारीको संख्या कर्णाली प्रदेशमा एक हजार बढी छ । अहिले दिइदैं आएको तलवले परिवार त के आफूपनि पालिन नसक्ने भएकोले सेवासुविधा बढाउनका लागि संघर्ष गर्ने तयारीमा छन् । डाँक बोकेर सम्बन्धित ठाउँमा पुर्याउनुपर्ने महत्वपूर्ण जिम्मेवारी बोकेका डाँकबाहकलाई अहिलेसम्म कर्मचारी नमानेकोमा उनको चित्त दुखाइ छ । उनीहरुले पुरानो नियम परिमार्जन गर्दै आफूहरुलाई कर्मचारीको रुपमा मान्यता दिइँ नियमानुसारको सेवासुविधा दिनुपर्ने माग गरेका छन् ।
कालिकोटका तुलराज सिंह महतको माग पनि समान छ । श्रेणीविहीन कर्मचारीलाई विभेद गरिएको आरोप लगाउँदै संघर्षबाट सेवासुविधा माग गर्ने तयारीमा उनी छन् । अतिरिक्त हुलाक कार्यालयलाई आइतवार, मंगलवार र विहीवार दुई घन्टा कार्यालय खोल्ने र सो अवधिभित्र सम्बन्धित ठाउँमा डाँक पुर्याउनुपर्ने भनिएको छ । तर सो अवधिभित्र डाँक पुर्याउन नसकिने गुनासो महतको छ । भौगोलिक विकटताले एउटै वडा पुग्न एक दिन लाग्ने ठाउँमा दुई घन्टाभित्र डाँक पुर्याउन नसकिने भन्दै उनले तीन दिन कार्यालय खोल्नुपर्ने भनिएपनि साताभर खोल्नुपर्ने बाध्यता रहेको जनाउँछन् । महिनाभर कार्यालयको काम गर्दा तलव दैनिक रु. २०० पर्ने भन्दै महतले सरकारले सेवासुविधा बढाउनुपर्ने बताउँछन् । साथै खान पुग्ने गरी सेवासुविधा दिनुपर्ने राय उनीहरुको छ ।
अहिलेको सेवासुविधा निकै कम भएको भन्दै उनीहरुले आगामी पुस ७ गतेदेखि संघर्ष गर्ने तयारीमा छन् । यसैक्रममा उनीहरुले श्रेणीविहीन कर्मचारी संघ गठन गरेर सुर्खेतस्थित हुलाक निर्देशनालयको ध्यानाकर्षण गराएका छन् । संघका कर्णाली प्रदेश अध्यक्षसमेत रहेका तीर्थराज कोइरालाले तलवमान समायोजन गर्नुपर्ने, पुरानो नियम परिमार्जन गर्नुपर्ने, छाता झोला नपाएकाहरुलाई प्रदान गर्नुपर्ने र कर्मचारीको रुपमा मापन गर्नुपर्नेलगायतका मागहरु हुलाक निर्देशनालयसमक्ष राखेका छन् ।
यता श्रेणीविहीन कर्मचारीहरुको मागको समन्वन्ध गर्ने प्रक्रियामा रहेको हुलाक निर्देशनालय सुर्खेतले जनाएको छ ।निर्देशनालय प्रमुख रेखा गौतमले श्रेणीविहीन कर्मचारीको मागहरु जायज भएको र उनीहरुको समस्या समाधान गर्नका लागि हुलाक सुधार कार्यदल गठन भइ प्रतिवेदन सार्वजनिक गर्ने तयारी भइरहेको बताइन् । उनीहरुले राखेको मागहरुको सुनुवाई हुनेमा विश्वस्त रहन आग्रह गर्दै गौतमले विभेदकारी नियमहरु हट्ने अपेक्षा गरिन ।
फोटो क्याप्सनः हुलाक निर्देशनालय सुर्खेतमा आफ्ना सेवासुविधा बढाउनुपर्ने माग सुनाउँदै अतिरिक्त हुलाकमा कार्यरत श्रेणीविहीन कर्मचारीहरु । तस्विरः बिमला खड्का÷सुर्खेत