राष्ट्रिय आमसञ्चार नीति–२०७३ लाई आवश्यक परिमार्जनसहित कार्यान्वयन गर्न माग गर्दे नेपाल पत्रकार महासंघले सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बास्कोटालाई ज्ञापन पत्र बुझाएको छ ।
महासंघको टोलीले बिहीबार सिंहदरबारमा मन्त्री बास्कोटालाई १६ बुदे ज्ञापन पत्र बुझाउदै राष्ट्रिय आमसञ्चार नीति–२०७३ लाई परिमार्जन सहित तत्काल पारित गर्दे कार्यान्वयनमा ल्याउन माग गरेको हो । संविधानप्रदत्त र अन्तराष्ट्रिय मूल्य मान्यताअनुसार प्रेस स्वतन्त्रता अक्षुण रहने व्यवस्था सुनिश्चित गर्न राज्यका केन्द्र, प्रदेश र स्थानीय तहले बनाउने सञ्चारसम्बन्धी सबै कानुनमा यसको प्रत्याभूति गरी निर्वाधरूपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने वातावरण निर्माण गर्न पनि महासंघले माग गरेको छ ।
न्यूनतम पारिश्रमिक र नियुक्तिपत्र नदिने संचार प्रतिष्ठानमाथि कडा कानूनी कारवाही गर्नुपर्ने , अनुगमन र कारबाहीको अधिकार प्राप्त प्रेस रजिष्ट्रार नियुक्त गर्नुपर्ने , मिडियामा भएका लगानीलाई पारदर्शी र व्यवस्थित बनाउनुपर्ने महासंघको माग छ ।
त्यस्तै जेष्ठ पत्रकार जीविकोपार्जन भत्ता, आपतकालिन राहत, बृहद पत्रकार कल्याण कोषको स्थापना गर्नुपर्नेपत्रकारलाई सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट उपलब्ध गराइने भनेको ५० प्रतिशत छुटलगायतका पूर्व निर्णयहरु कार्यान्वयन गर्न पनि महासंघले माग गरेको छ । ज्ञापन पत्र बुझ्दै मन्त्री बास्कोटाले सरकार पत्रकार महासंघसंग सहकार्य गर्दे अघि बढ्ने भन्दै यस बिचमा देखिएका समस्याहरु वार्ता र छलफलबाट समाधान गर्न सकिने बताए।
त्यस्तै महासंघले तत्काल विज्ञापन बोर्ड गठन गरी समानुपातिक विज्ञापन नीति लागू गर्न माग गरिएको छ । नेपाली मिडियालाई सेवा उद्योगको रुपमा मान्यता र सुविधा प्रदान गर्न, क्लीन फिड नीति कार्यान्वयनमा ल्याउन,सरकारी विज्ञापनको समुचित, समानुपातिक वितरण तथा विकेन्द्रीकरण गर्न पनि महासंघले जोड दिएको छ । पत्रकार महासंघका जिल्ला शाखाहरुको भौतिक पुर्वाधार विकासका लागि आवश्यक रकमको व्यवस्था गर्नुपर्ने महासंघको माग छ ।