लमजुङमा खरबारीमा आगो सल्काउँदा एक महिलाको जलेर मृत्यु भएको छ।
मस्र्याङ्दी गाउँपालिका–५ सञ्जापु गाउँकी ५७ वर्षकी मैती गुरुङको बुधबार उपचारका क्रममा पोखरामा मृत्यु भएको हो। मंगलबार बेलुका घर नजिकैको खरबारीमा घाँस पलाउँछ भनेर आफैंले आगो लगाएको र आगो सल्केर आलैंचीबारीमा आएपछि नियन्त्रण गर्ने क्रममा शरीर पोलिएको सञ्जापु गाउँका स्थानीय कामसार्की गुरुङले बताए।
उपचारका लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको र उपचार सम्भव नदेखिएपछि पोखरास्थित मणिपाल अस्पतालमा रेफर गरिएको थियो। मणिपाल अस्पतालमा उपचारका क्रममा मैतीको मृत्यु भएको स्थानीयले बताएका छन्।