नेपालमा ३० वर्षको अवधिमा ५ सय ११ वटा हिमताल थपिएका छन्। जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका हिमनदी पग्लन थालेपछि हिमतालको संख्या बढेको हो।
त्रिभुवन विश्वविद्यालय र चाइनिज एकेडेमी अफ साइन्सको इन्स्टिच्युट अफ तिब्बेतीयन प्लेटुले सन् १९७७ देखि २०१७ सम्म नेपालमा रहेका हिमतालको अवस्थाबारे गरको अनुसन्धानले हिमताल बढेको देखाएको छ।
अनुसन्धानअनुसार ३० वर्षको समयावधिमा हिमतालको क्षेत्रफल २५ प्रतिशतले बढेको छ। एक वर्ष लगाएर गरिएको अनुसन्धानमा ०.३६ हेक्टरभन्दा माथि क्षेत्रफल भएका हिमताललाई समावेश गरिएको थियो।
नेपालमा सन् १९८७ मा ६५ वर्गकिलोमिटर क्षेत्रफल हिमतालले ओगटेका थिए, अहिले यो क्षेत्रफल ८१ वर्गकिलोमिटर पुगेको छ। थपिएका हिमतालले ओगटेको क्षेत्रफल १० दशमलव १ वर्गकिलोमिटर छ। २ हजार ४ सय ५६ देखि ५ हजार ८ सय ९३ मिटर उचाइमा नयाँ हिमताल बनेका छन्।
थपिएका सबै हिमताल कोसी नदी बेसिनमा छन्।
४ हजार ४३ मिटरदेखि ५ हजार ६ सय मिटरको उचाइमा रहेका १ सय २ वटा हिमताल भने हराएका छन्। अनुसन्धानमा खटिएका त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. सुदीप ठकुरीका अनुसार २० वर्षको अवधिमा तालको औसत क्षेत्रफल २५ प्रतिशतले बढेको छ। नेपालमा सन् १९८७ मा १ हजार १ सय ३७ वटा हिमताल थिए। सन् २०१७ मा आएर १ हजार ५ सय ४१ वटा पुगेको छ। यसले जलवायु परिवर्तन र तापक्रम वृद्धिको असर देखाउने ठकुरीले बताए। कान्तिपुर दैनिकमा खबर छ।