सडकमा ट्राफिक प्रहरीको युनिट देखेपछि गाडी चालकले अनुमान लगाए–पक्कै पनि चेकजाँच होला। त्यसैले सवारीका सहचालकहरुले धमाधम बिलबुक र आवश्यक कागजात निकाल्न थाले।
तर, पूर्वपश्चिम राजमार्गअन्तरगत रुपन्देहीको सैनामैनाको सडकमा रहेका प्रहरीलाई कागजातप्रति ध्यान नै थिएन। उनीहरुले चालकलाई बोलाए र स्वास्थ्य अवस्था बुझ्न थाले। प्रहरीसँगै स्वास्थ्यकर्मी पनि थिए। व्लड प्रेसर तथा अन्य स्वास्थ्य चेकजनाँच सडकमै हुन थालेपछि चालकहरु पनि दंग परे।
देशभर सवारी दुर्घटना बढिरहेको सन्दर्भमा दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले छोटा तथा लामो दुरीका सवारी साधनको अवस्था र चालकको स्वास्थ्य अवस्था बुझ्न थालेको हो। पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले आइतबार रुपन्देहीको सैनामैनामा पर्ने पूर्वपश्चिम राजमार्गमा सवारी साधनलाई रोकेर चालकको स्वास्थ्य परीक्षण गरेको हो।
प्रहरीले ३ दर्जनभन्दा बढी सवारी साधन र चालकको स्वास्थ्य परीक्षण गरेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका प्रमुख गणेश चन्दले बताए। जसमध्ये २ चालक अस्वस्थ रहेको, ३ सवारी साधनको अवस्था खराब देखिएको प्रहरीले जनाएको छ। धेरैजसो चालकमा प्रेसर, सुगर देखिएको र कतिपयमा मापसेको समस्या देखिएको पनि प्रहरीले जनाएको छ।
यान्त्रिक त्रुटि र मानवीय कारणले दिन प्रतिदिन सवारी दुर्घटना हुन नदिन यो अभ्यास गरिएको ट्राफिक प्रहरीको भनाइ छ। सवारी दुर्घटना न्यूनिकरण,सवारी आवागमनमा सहजता ल्याउन यो कदमले विशेष टेवा पु¥याउने दाबी प्रहरीको छ।