२१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज विविध कार्यक्रम गरी देशभर मनाइँदै छ।
१९९० माघ २ गते नेपालमा गएको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो। दिवसका अवसरमा आज भूकम्प सुरक्षासम्बन्धी विभिन्न कार्यक्रम हुँदै छन्।
नेपालमा विभिन्न समयमा गएका ठूलासाना थुप्रै भूकम्पले जनधनमा ठूलो क्षति पुर्याएको छ। २०७२ साल बैशाख १२ गते गएको अर्को ठूलो भूकम्पले पुर्याएको क्षतिबाट मुलुक अझै सम्हालिन सकेको छैन। हजारौं नागरिकको मृत्यु, हजारौं अंगभंग र घाइते तथा लाखौं नागरिक एकसाथ घरवारविहीन बनाएको बैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणले अझै गति लिन सकेको छैन।
पुनर्निर्माण प्राधिकरणमा भइरहेको दलीयकरणले वास्तविक पीडितसमक्ष राज्यको उपस्थिति हुन सकेको छैन। भूकम्प गएको तीन वर्ष हुन लाग्दा पनि भूकम्प प्रभावितलाई दिइने भनिएको अनुदान रकम सबैमा पुगेको छैन। सुस्त र गतिहीन प्रशासन एवं राजनीतिकरणले पुनर्निर्माणको काम प्रभावित बनेको हो।