हेटौँडा उपमहानगरपालिका ११ नवलपुर निबासी रेडियो पत्रकार मनोहर ढकालको हत्या भएको खुलेको छ।
पुस २५ गते साँझ साढे ५ बजे मोटरसाइकल लडिरहेको अबस्थामा हेटौँडा ११ भैरवडाँडा जाने जंगलमा उनको शब भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार पत्रकार सम्मेलन गरी पत्रकार ढकालको हत्या भएको पुष्टि गरेको हो।
पत्रकार सम्मेलनमा ढकालको हत्यामा संलग्न २ जनालाई सार्बजनिक गर्दै प्रहरीले हत्यापछि मोबाइल र सुनको औँठी खरिद गर्ने अन्य २ जना व्यापारीहरुलाई समेत सार्बजनिक गरिएको छ।
हत्याका अभियुक्तहरुमा हेटौँडा ११ का १९ बर्षीय अनमोल पुडासैनी र मनहरी गाउँपालिका १ बस्ने पदम वाइबा रहेका छन्।
त्यसैगरी मोबाइल खरिदकर्ता भीमफेदी गाउँपालिका ६ का दिनेश थापामगर र सुनको औँठी खरिदकर्ता नारायणी सुनचाँदी पसलका सञ्चालक हेटौँडा २ का नारायणबहादुर सुनार पनि पक्राउ परेका छन्। मोबाइल र औँठी खरिदकर्तासँगको सोधपुछ र अनुसन्धानपछि हत्याका अभियुक्त पक्राउ परेका हुन्।
घटनाको प्रारम्भिक अनुसन्धानमा हत्याको कारण सामान्य देखिएको छ। प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भट्टराईका अनुसार पुस २५ गते साँझ ५ बजेतिर ढकाल भैरवडाँडा (पाथिभरा मन्दिर जानेबाटो) हुँदै जंगलतर्फको सहायक बाटोमा पुगेका थिए।
घटनास्थल छेउमा चुरोट खाइरहेका युवकहरुलाई देखेर ढकालले सम्झाउन खोज्दा विवाद भएको थियो। विवादपछि मोटरसाइकल फर्काएर निस्कन लाग्दा हातपात गरी खोल्सातिर धकेलिदिएको बयान अभियुक्त पुडासैनीले दिएका छन्।
खोल्सा लडेका ढकालको झोलाबाट हार्ड डिस्क, औँलाबाट औँठी तथा पर्सबाट ५ सय रुपैयाँ झिकेर आफूहरु भागेको पुडासैनीले प्रहरीलाई बयान दिएका छन्। हातमा औँठी र पछाडि ब्याग समेत बोकेकोले धनमाल लुट्ने सोचेर मार्ने उद्देश्यले आक्रमण भएको प्रहरीले दाबी गरेको छ।
घटनापछि सोही बाटो भएर आएका अटो चालक अमृत वाग्लेले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खबर गरेका थिए। खोल्सामा लडिरहेका ढकाललाई तत्काल हेटौँडा हस्पिटल ल्याइएको पाँच मिनेटपछि नै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
अभियुक्तहरुलाई मुलकी अपराध संहिता ऐन २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुर अन्तर्गत जन्मकैद समेत हुने गरी मुद्दा दायर गर्ने तयारी जिल्ला प्रहरी कार्यालय मकवानपुरले गरेको छ।
उपत्यका बाहिरको पहिलो सामुदायिक रेडियो रेडियो पालुङका पूर्व स्टेशन म्यानेर रहेका ढकाल हाल शिक्षण पेसामा थिए। उनी हेटौँडा १२ स्थित बुद्ध माध्यमिक विद्यालयमा अध्यापन सकाएर घर फर्कने बेलामा घटना भएको हो। उनका श्रीमती, आमा, एक छोरा र एक छोरी छन्। विभिन्न रेडियो स्टेशनहरुमा ट्रान्समिटर तथा टावरको प्राविधिक काम पनि उनले गर्दै आएका थिए।