सीमावर्ती भारतीय बजारबाट सामान ढुवानी गरेर कञ्चनपुरका महिलाले घरको जीविका चलाउन थालेका छन्। घरको आर्थिक अवस्था दयनीय बनेपछि बाध्यताले यहाँ एकल तथा विपन्न महिलाले साइकलमा सामान ढुवानी गर्नु नियति नै बनेको छ।
सीमावर्ती भारतीय बजार वनबासाबाट करीब २० किलोमिटर साइकलमा हिँडेर यिनीहरूले दैनिक डेढदेखि दुई क्विन्टलसम्म सामान बोकेर सदमुकाम भीमदत्तनगर सामान पुर्याउने गरेका छन्। सामान ढुवानीबाट महिला मजदुरलाई दैनिक २ सयदेखि ४ सयसम्म आम्दानी हुने गरेको छ।
आम्दानीबाट आफूहरुले परिवारको खर्च एवं बालबालिकाको पढाइ खर्च जुटाउने गरेको उनीहरूको भनाइ छ। कडा परिश्रमबाट आएको आम्दानीले दैनिक खर्च टार्नुपरेको वेदकोट नगरपालिकाकी जानकी रानाले बताए। “कहिलेकाहीँ भन्सार कर्मचारीले दुःख दिन्छन्”, रानाले भने, “सामान ढुवानी गरेर परिवार धान्नु हाम्रो बाध्यता हो।”
त्यसैगरी भीमदत्तनगरपालिका–२ की अम्बरा बुढाथोकी पनि घरमा कमाउने कोही नभएपछि ‘क्यारिङ’ को काम शुरु गरेको बताए। विगत नौ वर्षदेखि घरखर्च धान्नकै लागि उहाँले सामान ढुवानी गर्दै आएको दुखेसो व्यक्त गरे। कञ्चनपुरमा भारतीय सीमावर्तीबाट दैनिक ४० भन्दा बढी महिलाले सामान ढुवानी गरेर जीविका चलाउँदै आएका छन्।